सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय 


२०८१ असोज २ बुधबार २१:४५ बजे

काठमाडौं । सरकारले सहकारी ठगीबारे विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज (बुधबार) को मन्त्रिपरिषद बैठकले संसदमा पेस भई कार्यान्वयनका लागि संसदबाट सरकारलाई पठाइएको सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

सो प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय लिएका हुन् । नेकपा एमाले सांसद सूर्य थापाको संयोजकत्वमा बनेको सहकारी छानबिन समितिले सोमबार संसदमा प्रतिवेदन पेस गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकार पठाएका थिए । 

प्रतिवेदनका रास्वपा सभापति रवि लामिछाने, उनका व्यापारिक साझेदार जीबी राई र छविलाल जोशीलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । यस्तै सहकारीको समस्या समाधानका लागि प्राधिकरण गठन गर्न सुझाव दिइएको छ । सांसद सूर्य थापा सभापति रहेको समितिले भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन बुझाएको थियो ।

सभामुख देवराज घिमिरेले त्यही दिन आवश्यक कारबाहीका लागि सरकारमा पठाउन सचिवालयलाई निर्देशन दिएका थिए । प्रतिवेदन अब गृहले मातहतका अनुसन्धान गर्ने निकायमा पठाउने छ । कसुर हेरेर नियमित फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया  अबलम्बन सम्बन्धित निकायले गर्न सक्ने छन् । समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको रहक प्रवाह भएको पाइएकोमा रविलगायतमाथि कारबाहीको सिफारिस गरेको थियो ।

‘खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसबापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्कको खातामा आइसकेपछि खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ समितिले प्रतिवेदनमा भनेको छ ।

गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था वीरगंजमा बचतकर्ताले राखेको ६५ करोड रुपैयाँ प्रवाह भएको थियो। त्यसमध्ये २२ करोड ४६ लाख सिधै र बाँकी रकम विभिन्न व्यक्तिका नामबाट कम्पनीमा जम्मा भएको प्रतिवेदनमा उल्लेख छ । समितिले सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि आवश्यक अनुसन्धान गर्न सिफारिस गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७