नबिल बैंक दक्षिण एशियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा अवार्ड’ बाट सम्मानित
काठमाडौं । नबिल बैंकले दक्षिण एशियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा ‘मेरिट अवार्ड’ प्राप्त गरेको छ । साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्स (साफा) ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।
दक्षिण एशियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२–२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ । साफाले हरेक वर्ष दक्षिण एशियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्याङ्कन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ ।
साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो । नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरको २६८ शाखा र ३२० एटिएम मेशिनहरूबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।