दुर्गा प्रसाई सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
काठमाडौं । साइबर अपराध आरोपमा हाल प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको छ । प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीको ठक्करबाट घाइते कोशी गाउँपालिका–३ का फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका–३, नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ६० वर्षीय मेहता घाइते भएका थिए । दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई तत्काल सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ १० दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि यही मंसिर ५ गते नोबेल अस्पताल पठाइएको थियो ।
प्रहरीका अनुसार मृतक मेहताका परिवारजनले भने सप्तकोशी न्युरो अस्पतालको लापरबाहीबाट ज्यान गएको आरोप लगाएका छन् । ठक्कर दिने गाडीका चालक हाल झापा निवासी सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।