पूर्व राज्यमन्त्री पदम राईको निधन


२०८१ मङ्सिर ८ शनिबार २३:४८ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित उनको उपचारका क्रममा आज (शनिबार) राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले जनाएका छन् । 

भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । राई २०६३ को अन्तरिम व्यवस्थापिकामा माओवादीबाट विधायक भएपछि भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए । राज्यमन्त्रीकै हैसियतमा उनी पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष चुनाव जितेका थिए ।

राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका थिए । वैद्यको पार्टी फुटेपछि उनी नेत्रविक्रम चन्द ‘विप्लव’ तिर गएका थिए । पछि फेरि उनी माओवादीमा फर्किएका थिए । उनको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे निर्णय भइनसकेको सुदन किरातीले बताएका छन् । 

यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राईको निधनले दुःखित बनाएको बताएका छन् । ‘पारकिन्सन रोगबाट थलिनु भएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री  पदम राईको निधनले दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रचण्डले फेसबुकमार्फत भनेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७