नेपालको बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थामा : केसी


२०८१ पौष ३ बुधबार ००:१५ बजे

काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले अहिले नेपालको बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । बैंकर्स संघले आज (बुधबार) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कर्जा प्रवाह वृद्धि निकै न्यून भएको, कर्जाको माग नभइरहेको लगायतका कारणले नेपालको बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थामा गुज्रिरहेको बताएका हुन् ।

केसीले अर्थतन्त्रमा अहिले अप्ठ्यारो परिस्थिति सिर्जना भएकाले बैंकलाई जोखिम रहेको बताएका हुन् । ‘अहिले सात खर्ब हाराहारी तरलता छ । यसको व्यवस्थापन गर्न नसक्दा भोलिका दिनमा अझै बढी जोखिम सिर्जना हुने चुनौती छ’, उनले भने, ‘नेट एनपीए भने १ प्रतिशत हाराहारीमा छ । समस्याबाट सजग हुनुपर्ने अवस्था छ ।’

मुलुकको अर्थतन्त्र अनिश्चितताको अवस्थामा रहेकाले पछिल्लो समय बैंकका कर्मचारी जागिर छाडेर विदेश जाने क्रम बढिरहेको केसी जानकारी दिए । विभिन्न कारणले गर्दा बैंकिङ क्षेत्रको रिटर्न अन इक्विटी घटिरहेको उनले सुनाए । बेलाबखत बैंकका कर्मचारीमाथि हुने धरपकडलाई पनि सरकारले नियन्त्रण गर्न नसक्दा यस क्षेत्रको मनोबल कमजोर भइरहेको उनको भनाइ छ । विभिन्न चुनौतीका बाबजुद दक्षिण एसियामै सबैभन्दा राम्रो बैंकिङ  क्षेत्रमध्ये नेपाल अगाडि रहेको केसीले बताए । केन्द्रीय बैंकको सुझबुझपूर्ण नियामकीय कदमका कारण बाह्य क्षेत्र बलियो अवस्थामा रहेको उनको भनाइ छ । 

संघका नव निर्वाचित अध्यक्ष सन्तोष कोइरालाले अहिले सबैतिर रहेको समस्यालाई चिरेर नेपालको बैंकिङ क्षेत्रले काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले मुलुकको कन्ट्री रेटिङ सकारात्मक आएकाले पनि मनोबल बढाउन सहयोग पुग्ने बताए । कार्यक्रममा बैंकर तथा पूर्वबैंकरहरूले अर्थतन्त्रको शिथिलतालाई चिर्न सरकार लाग्नुपर्नेमा जोड दिए । पूर्वबैंकर किरणकुमार श्रेष्ठले केन्द्रीय बैंकले मात्रै अर्थतन्त्र सुधार्न नसक्ने भन्दै सरकार समेत लाग्नुपर्ने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७