यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौंमा पनि पश्चिमी वायुको प्रभाव, वर्षाको सम्भावना


२०८१ पौष १३ शनिबार २३:२४ बजे

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौस्मविदले जनाएका छन् । हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गए रातिदेखि पानी परिरहेको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरूमा हल्का हिमपात पनि भइरहेको छ ।

आज सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरूका साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ । 

‘बिहान १० बजेपछि पनि वर्षा हुनसक्छ भने दिउँसो १२ बजेपछि चाहिँ पानी पर्ने सम्भावना बढी छ’, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘त्यस्तो ठूलो वर्षा हुने होइन, छिटपुट र हल्का खालको वर्षा हुने हो ।’ मौसमविद् मानन्धरका अनुसार दिनभर नै मौसम बदली हुने भएकाले काठमाडौँमा आज घाम लाग्ने सम्भावना निकै कम छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरू तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । भोलि दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७