पुस महिनामा कुन–कुन नेपाली चलचित्र लाग्दैछन् हलमा ?
काठमाडौं । पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन् । विदेशी ठूला बजेटका चलचित्र, चिसो मौसमले गर्दा पुसलाई नेपाली निर्माताले प्राथमिकतामा राख्ने गर्दैनन् । यद्यपि केही नेपाली चलचित्र अहिले चलचित्र भवनमा प्रदर्शनरत छन् ।
गत पुस ५ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बम बहादुर’ प्रदर्शनरत छ । भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए । उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ ।
‘चलचित्रमा मुख्य पात्र बमबहादुरको सङ्घर्षमय जीवनको कथा देखाइएको छ । यो चलचित्र नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बुझेका दर्शकहरूको लागि मात्र होइन, भारत र नेपालका युवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिने हिसाबले पनि महत्वपूर्ण छ’, निर्देशक राईले भने । यसमा अभिनेता सौगात मल्ल, अभिनेत्री अनिशा रसाइली, अजय प्रधान, प्रशान्त राई, शान्तिला तामाङ, बाल कलाकार वशिष्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन् ।
यसका साथै गत बुधवार पुस १० देखि ‘देववाणी’ लाई बाबुसाहेब बलामीले निर्देशन गरेका हुन् । कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गरेको चलचित्र काठमाडौँ बाहिर प्रदर्शनरत छ । सुरुआती व्यापार उत्साहाजन गर्न नसकेपछि यसको काठमाडौँ उपत्यका प्रदर्शन हुन सकेको छैन । अर्थात् चलचित्र भवनले यस चलचित्रलाई शो उपलब्ध गराएका छैनन् ।
यस्तै, गत मंसिर ७ देखि प्रदर्शन भएको चलचित्र ‘तेल भिसा’ उपत्यका र मोफसलका केही चलचित्र भवनमा प्रदर्शनरत छ । निर्देशक शङ्कर घिमिरेले आफ्नो सन्तान भेट्न प्रवास पुग्ने अभिभावकको भोगाईमा चलचित्रलाई तयार गरेका छन् । यसमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाइएको छ । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन् ।
यस्तै, नेपाली चलचित्रको इतिहासमा सबै भन्दा बढी व्यापार गर्न सफल भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ । गत कत्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले सफलतापूर्वक ५१ औँ दिन पार गरिसकेको छ । यसको नेपालमै ५० करोडको हाराहारीमा व्यापार (ग्रस कलेक्सन) भएको निर्माण पक्षले दाबी गरेको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा अभिनेता विजय बराल, मुकुन भुसाल, बुद्धी तामाङ, प्रकाश सपूत, अभिनेत्री अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । अहिले नेपालका चलचित्र भवनमा विदेशीको तुलनामा स्वदेशी चलचित्र नै बढी देखिएका छन्। दर्शकले नेपाली चलचित्रलाई प्राथमिकता दिएपछि यस्तो सम्भव भएको वितरक करण श्रेष्ठले बताए ।
‘नेपाली चलचित्रका लागि यो वर्ष निकै सुखद देखिएको छ । यो साथले धेरै चलचित्रकर्मीलाई हौसला दिएको छ । अहिलेसम्म प्रदर्शन भएका चलचित्रको समग्र व्यापार हेर्दा आउँदो वर्ष निर्माण संख्या बढ्नेमा दुईमत छैन’, वितरक श्रेष्ठले भने । बेलाबखतमा चलचित्र भवनले शो नदिएको गुनासो सुनिएता पनि यस वर्ष नेपाली चलचित्रले चलचित्र भवनमा आफूलाई अब्बल सावित गरेको छ ।