सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत


२०८१ पौष १३ शनिबार ०५:४६ बजे
फाइल फोटो

कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बेत बन्दै गएको छ । तीन सय हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा बेत बिक्री हुने भएकाले आम्दानीको प्रमुख बनेको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए ।

‘सुदूरपश्चिममा सबैभन्दा बढी बेत उत्पादन हुने यही वन हो’, चौधरीले भने, ‘वनको आम्दानीको मुख्य काठ नभइ बेत नै बनेको छ । सानो र ठूलो गरी चार वटा प्लटमा बेत उत्पादन गरिन्छ ।’ बेत काट्का लागि अनुभवी कामदार आवश्यक पर्छ । ‘गत वर्ष ठूलो परिमाण भएको प्लटको बेत काटेका थियौं’, उनले भने, ‘वन कार्ययोजनाअनुसार छ हजार पाँच सय क्विन्टल काट्ने अनुमति पाएका थियौँ । तर अनुभवी कामदारको अभावले दुई हजार सात सय क्वीन्टल बेत मात्रै काट्न सक्यौँ ।’  

बेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन् । प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म बेत काट्ने गरिन्छ । बेत काटेवापत स्थानीय उपभोक्ताहरुले प्रतिकिलो रु १०का दरले पारिश्रमिक पाउँछन् । एक जनाले दिनमा रु एक हजारदेखि दुई हजारसम्म कमाउँछन्, चौधरीले भने । बेत बिक्रीका लागि स्थानीय उपभोक्तालाई प्रतिकिलो रु ५० का दरले बिक्री गरिन्छ भने अन्यलाई रु ९० तोकिएको छ । गत वर्ष दुई हजार सात सय क्विन्टल काटेको बेत सुकेर नौ सय क्विन्टल भएको थियो । जसलाई प्रतिकिलो रु ९० का दरले छ सय क्विन्टलका बिक्रीका लागि बोलपत्र आह्वान गरिएको उनको भनाइ छ । 

‘जिल्लामा बेतको माग  धेरै छ’, चौधरीले भने, ‘नियमअनुसार १० प्रतिशत स्थानीय उपभोक्ता र १० प्रतिशत जिल्लाभित्रका उपभोक्तालाई मात्रै दिन पाइन्छ ।’ नजिकै रहेको सामुदायिक वनबाट बेत बास पाउँदा सहज हुने गरेको उद्योग सञ्चालक भरतलाल बिक बताउँछन् । विगत पाँच वर्षदेखि बेत बाँस उद्योग सञ्चालन गरिरहेका उनले उद्योगमा स्थानीय ३५ जनाभन्दा धेरैलाई रोजगारी पनि दिएका छन् । उनले बेत खरिदका लागि भने समस्या हुने गरेको बताए ।

विकले भने, ‘धेरै बेत आवश्यक हुँदा टेण्डर प्रक्रियामा नै जानुपर्छ । टेण्डरमा जाँदा एकमुष्ट धेरै लगानी हामी लगाउन सक्दैनौँ । सबै बेत बाहिर जान्छ र हामीलाई कच्चा पदार्थको अभाव हुन्छ । स्थानीय उद्योगमा खपत भई बाँकी रहेको बेत टेण्डर लगाउने गरेको भए सहज हुन्थ्यो’, उनले भने । कर्णाली नदीको छेउमा रहेकाले सत्ती कर्णाली सामुदायिक वन कटान हुँदै गएको छ । पचास हेक्टरभन्दा बढी वन कटान भइसकेको छ । कटानका कारण मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बेतहरु बगेर जाने गर्दछन् । वन कटानसँगै नजिकै रहेको बस्ती पनि जोखिममा छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७