पिएल सिंहको निधनबाट देशलाई अपुरणीय क्षति : सभापति देउवा


२०८१ पौष १३ शनिबार ०५:२७ बजे
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्व प्रमुख पिएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औं पुण्यतिथिमा आज  भएको श्रद्धाञ्जलीसभामा पूर्व प्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी समकालीन नेताहरुमा धेरै अगाडि रहेको बताए । सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उनले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए ।

नेपाली कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आह्वान गरे । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक सिद्धान्त र आदर्शको राजनीतिलाई श्रीसिंहले निष्ठाका साथ अनुशरण गरेको बताए । उनले सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता सिंहले निष्ठाको राजनीति गर्ने आदर्श योद्धाका रुपमा आफूलाई स्थापित गरेको बताए । 

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जनताका अधिकारका लागि सधैँ अग्रमोर्चामा रही स्वर्गीय सिंहले राजनीतिक गरेको सम्झिए । नेपाली कांग्रेसका नेताहरु राजेन्द्र केसी, सबुजकृष्ण बानियाँ, भीमसेनदास प्रधान, गोकर्ण केसी र जीवन डङ्गोललगायत वक्ताले काठमाडौँ उपत्यकामा पार्टीको सङ्गठन विस्तार कसरी गर्ने  भन्ने शिक्षा स्वर्गीय सिंहबाट लिनुपर्ने बताए । विसं २०५२ मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई पिएल सिंहको नेतृत्वमा महानगरपालिका घोषणा गरिएको थियो ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७