अराजकता र अवसरवादलाई जित्नु आजको प्रमुख चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताएका छन्। एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा आज राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबरजस्ती उदय भएको बताए।
महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताए। ‘राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ । त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो’, उनले भने।पार्टीभित्र साङ्गठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको भन्दै महासचिव पोखरेलले त्यसविरुद्ध दृढ संघर्ष गर्नुपर्ने बताए। ‘हाम्रोभित्रै हुर्किरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो’, उनले भने ।
महासचिव पोखरेलले एमाले समाजवादको लक्ष्य बोकेर हिँडेको पार्टी भएको भन्दै समाजवादसम्म पुग्न स्पष्ट विचार, दृष्टिकोण र साङ्गठनिक एकता आवश्यक रहेको बताए। उनले समाजवादलाई ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा व्याख्या गर्नुपर्ने भन्दै समृद्ध नेपाल, सुखी नेपालीले समाजवादका आधार तयार पार्ने बताए। जनसांस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बाले पार्टीका गतिविधि कला र संस्कृतिमार्फत जनसमक्ष प्रस्तुत गर्ने बताइन् ।