हिमालय टिभीको गेटमा राखिएको गाडीको अभिलेख फेला
काठमाडौं । विभिन्न सञ्चारगृहको प्रवेशद्वार अगाडि सोमबार बिहान शंकास्पद रूपमा पार्किङ गरिएका गाडीबारे नेपाल प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। अनुसन्धानका क्रममा हालसम्म मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अवरोध गर्दै राखिएको गाडीको प्रारम्भिक विवरण खुलेको छ।
प्रहरी स्रोतका अनुसार बा.१२ च १२५५ नम्बरको उक्त गाडी यातायात व्यवस्था विभागको अभिलेखमा अग्नि इनकर्पोरेट डी प्रालिका नाममा दर्ता रहेको देखिएको छ।
प्रहरीका अनुसार अग्नि इनकर्पोरेट डी प्रालि सवारीसाधनको अधिकृत विक्रेता कम्पनी भएकाले गाडी बिक्री भइसके पनि किस्ता भुक्तानी पूरा नभएसम्म अभिलेखमा कम्पनीकै नाम रहने व्यवस्था छ। त्यसैले वास्तविक प्रयोगकर्ता वा खरिदकर्ताको पहिचान गर्ने प्रयास भइरहेको छ।
यातायात व्यवस्था कार्यालयको अभिलेखमा उक्त गाडीसँग सम्बन्धित प्रयोगकर्ताको सम्पर्क विवरण नभएकाले अग्नि इनकर्पोरेट डी प्रालिमार्फत गाडी खरिद गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, अन्य सञ्चारगृह अगाडि पार्किङ गरिएका गाडीहरूको विवरण प्राप्त गर्न बागमती प्रदेश सरकारअन्तर्गतका यातायात कार्यालयसँग समन्वय भइरहेको छ। तर, सोमबार प्रदेशका यातायात कार्यालयको सर्भर डाउन भएका कारण अन्य गाडीहरूको यकिन विवरण तत्काल प्राप्त हुन नसकेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको उद्देश्य, गाडी पार्किङ गर्ने व्यक्तिहरू र सम्भावित संलग्नताबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
.gif)

.png)

