साफ च्याम्पियनसिपमा नेपालको नाम नदेख्दा खिन्न छु : कप्तान किरण चेम्जोङ
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आसन्न साफ च्याम्पियनसिपको खेल तालिकामा नेपालको नाम नदेख्दा आफू अत्यन्तै खिन्न भएको बताएका छन्।
बंगलादेशको ढाकामा नोभेम्बर ४ देखि सुरु हुने साफ च्याम्पियनसिपको शनिबार सार्वजनिक गरिएको ड्रमा फिफाको निलम्बनका कारण नेपाल समावेश छैन। फिफाले अखिल नेपाल फुटबल संघ ९एन्फा० मा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेपछि नेपाली राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर रहँदै आएको छ। नेपालको निलम्बन सेप्टेम्बर १ सम्म फुकुवा भएमा मात्र प्रतियोगितामा सहभागी हुने सम्भावना रहनेछ।
ड्र सार्वजनिक भएपछि कप्तान किरणले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो भावना व्यक्त गरेका छन्। 'एक गर्विलो नेपाली फुटबल खेलाडीका रूपमा साफ च्याम्पियनसिपको खेल तालिकामा नेपालको नाम नदेख्दा साँच्चै नै मन खिन्न भएको छ। हामीले सधैं गर्व, जोश र आशाका साथ आफ्नो देशका लागि संघर्ष गरेका छौँ।'
उनले नेपालको निलम्बन चाँडै हट्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय टोली पुनः देशको प्रतिनिधित्व गर्न तयार रहेको उल्लेख गरेका छन्।
'हामी आशा गर्छौँ कि यो प्रतिबन्ध चाँडै हट्नेछ र नेपाल पुनः मैदानमा फर्किनेछ। हामी राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्ना जनतालाई गौरवान्वित बनाउनेछौँ। नेपाली फुटबलको आवाज सुनिनुपर्छ र हाम्रा समर्थकहरूले आफ्नो राष्ट्रिय टोलीलाई पुनः खेलिरहेको हेर्न पाउनुपर्छ। हामी चाँडै फर्कने आशा राख्छौँ, हामी विश्वास गरिरहनेछौँ।'
यस्तै, राष्ट्रिय टोलीका विंगर मनिष डाँगीले पनि नेपाली फुटबलमाथिको प्रतिबन्ध यथाशीघ्र हटाउनुपर्ने धारणा व्यक्त गरेका छन्। फिफाले नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै २०८३ असार १० गते एन्फामाथि निलम्बनको निर्णय गरेको थियो। त्यसयता नेपाली राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट वञ्चित हुँदै आएको छ।
.gif)

.png)

