सर्वोच्चले निस्सा दिएपछि आधाभन्दा बढी विजय भइसक्यो : शेरबहादुर देउवा
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि आफूहरूको आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । भक्तपुरमा आयोजित ११३औँ बीपी जयन्तीका अवसरमा ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।
निर्वाचन आयोगको निर्णयविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र त्यसपछि पुनरावलोकनका लागि निवेदन दिँदा सर्वोच्चले निस्सा दिएको उनले बताए । ‘हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ । चुनाव भइसक्यो, के गर्ने भन्यो । हामी पुनरावलोकनमा गयौँ । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ देउवाले भने ।
उनले नेपाली कांग्रेसका नेता गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिरसमेत गरे । पार्टीको आधिकारिकता विवादमा आफूहरूले कुनै पनि हालतमा वैधानिकता पाउने उनको दाबी छ । देउवाले आफूहरूलाई आधिकारिकता प्राप्त गर्नबाट रोक्न विभिन्न प्रयास र षड्यन्त्र भइरहेको आरोप लगाए । तर त्यस्ता प्रयासबाट आफूहरू पछि नहट्ने उनले बताए ।
‘अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर के गरेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ । तर हामी कुनै हालतमा मान्दैनौँ,’ उनले भने । नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले नै पाउने दाबी गर्दै देउवाले पार्टीको रुख चिह्न र चारतारे झन्डासमेत आफूहरूले पाउने बताए । ‘रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ देउवाले भने ।
.gif)

.png)

