सिरहामा ११ सय किलो गाँजा बरामद
सिरहा : सशस्त्र प्रहरीले सिरहाबाट करिब ११ सय किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडी र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्माचोक गागन खोलापुलबाट गएराति करिब १ बजे गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रहरीका अनुसार बरामद गाँजा २६ वटा बोरामा प्याक गरिएको अवस्थामा थियो। प्रहरी टोली देखेपछि गाँजा ओसारपसारमा संलग्न चालकहरू सवारीसाधन छाडेर फरार भएका छन्।
बरामद गाँजा, बोलेरो र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)


