कांग्रेसले यस वर्ष चियापान नगर्ने
बाढीपहिरोको शोकमा कांग्रेसको चियापान स्थगित
काठमाडौं : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ। देश बाढीपहिरोबाट भएको जनधनको क्षतिका कारण शोकमा रहेकाले कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र बूढीगण्डकीमा आएको बाढीले समेत थप क्षति पुर्याएको उल्लेख गरेको छ।
‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ। भोटेकोसीमा आएको बाढीले हाम्रा १ हजार ४०० भन्दा बढी आफन्तको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बूढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ।
यस्तो दुःखद् परिस्थितिमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले स्पष्ट पारेको छ। कांग्रेस सभापति गगनकुमार थापाले यस वर्षका चाडपर्व भड्किलो ढंगले नभई शान्त र संयमित रूपमा मनाउन आग्रह गरेका छन्। शोकको घडीमा परिवारमा सीमित रहेर चाडपर्व मनाउन सभापति थापाले आग्रह गरेको पार्टीको विज्ञप्तिमा उल्लेख छ।
बीपी कोइरालाले सुरु गरेका थिए चियापान
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने परम्परा लामो समयदेखि कायम राख्दै आएको छ।
बीपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा पहिलोपटक चियापान समारोह आयोजना गरिएको थियो। आपसी सौहार्दता अभिवृद्धि गर्ने र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम त्यसयता केही वर्ष आयोजना हुन नसकेको बाहेक निरन्तर हुँदै आएको थियो।
कांग्रेसको चियापान कार्यक्रम विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा शुभेच्छुकबीच भेटघाट र शुभकामना आदानप्रदान गर्ने अवसरका रूपमा रहँदै आएको छ। यस वर्ष भने बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिलाई ध्यानमा राख्दै कांग्रेसले उक्त परम्परागत कार्यक्रम नगर्ने निर्णय गरेको हो।
.gif)

.png)



