‘अब अलमलिने र अलमल्याउने छुट कसैलाई छैन’ 


२०८१ असोज २ बुधबार २३:२६ बजे

काठमाडौं ।  मन्त्रिपरिषद्का पूर्व अध्यक्ष  एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमी कमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवस–२०८१ को पूर्वसन्ध्यामा दिएको शुभकामना सन्देशमा पूर्व अध्यक्ष   रेग्मीले परिणाममुखी कामले मात्र जनआकांक्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढन सुझाव दिए । ‘स्थिरता, जनसहभागिता, प्राप्त हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको सम्बर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय हो । हाम्रा सबै क्रियाकलाप यसतर्फ केन्द्रित हुनु पर्दछ’, उनले भने ।

लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम प्रयासबाट लोकतान्त्रिक संविधान प्राप्त भएको स्मरण गराउँदै पूर्व प्रधानन्यायाधीश रेग्मीले वीर सहिदको बलिदान, घाइते, अपाङ्गहरूको सङ्घर्षपूर्ण जीवनले जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घचाइ रहेको स्पष्ट गरे । संविधान संशोधन सबैका लागि चासो र बहसको विषय बनेको उनले उल्लेख गरे ।

पूर्व अध्यक्ष रेग्मीले भने, ‘अब अलमलिने र अलमल्याउने छुट कसैलाई छैन । आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन् ।’ उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिए । 

पूर्व प्रधानन्यायाधीश रेग्मीले आज संविधान संशोधनको विषय एजेण्डाका रुपमा सरकार पक्षबाट उठाइएकाले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गरे । ‘संविधान दिवसका अवसरमा नेपाली जनताका आकांक्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस्, सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७