एमालेले बालेनसँग ‘शब्द युद्ध’ गर्न जरुरी छैन : शेरबहादुर तामाङ


२०८१ असोज ५ शनिबार २०:४२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहरा सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई दिनुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै तामाङले अहिले काठमाडौंका मेयर बालेन्द्र शाह र एमालेको सिंगो पंक्तिबीच भइरहेको जुहारी आफूलाई निको नलागेको बताएका छन् । 

उनले बरु काममा प्रतिष्पर्धा गर्न दुवै पक्षलाई सुझाव दिए । एमाले जस्तो पुरानो र ठूलो दलले काठमाडौँको मेयरसँग किन जुहारी गरेको भन्ने प्रश्नमा पूर्वमन्त्री तामाङले अब शब्दयुद्ध जरूरी नभएको बताए । उनले थपे, ‘काम गरौं । एमालेले पनि काम गर्नुपर्छ, बालेनले पनि काम गर्नुपर्छ । शब्दयुद्ध गर्न जरुरी छैन । काम गरेर जित्नुहोस् । धरहराको सम्पूर्ण व्यवस्थापन महानगरलाई दिऊ । राजधानी सबै नेपाली जनताको हो । कसैसँग टक्कर गर्ने नाममा राजधानीवासीलाई अहित हुने काम कसैले नगरौं । एमालेले पनि गर्दैन । धरहरा सञ्चालनको काम महानगरलाई जिम्मा लगाऔं ।’

उनले भ्रष्टाचार निवारणका लागि आफूले सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव कानूनमन्त्रीको जिम्मेवारीमा हुँदाखेरि राखेको पनि बताएका छन् । उनले भ्रष्टाचारको कुनै हदम्याद नहुने भन्दै अहिले सरकारले पनि त्यहीअनुसार कानून बनाएकोमा धन्यवाद दिएका छन् । उनले भने, ‘धरहरा निर्माण सम्पन्न भएर अहिले सर्वसाधारणले चढ्न पाएका छन् । यो पनि देखाऔं । नागढुंगामा सुरूङमार्ग निर्माण अन्तिम चरण्मा छ, छिट्टै त्यो पनि उद्घाटन हुँदैछ । पूर्व–पश्चिम हुलाकी राजमार्ग, महेन्द्र राजमार्गको स्तरोन्नति, मदन भण्डारी लोकमार्ग पनि बनिरहेको छ । मध्यपहाडी लोकमार्गपनि बनिरहेको छ । अब हिमाली पर्यटनमार्ग पनि बन्छ । यो सबै काम हुन्छन् ।’ 

तलब–भत्तामा ७० प्रतिशत सक्ने देश भएकाले नेपालले धेरै छिटो विकास गर्न नसक्ने उनले टिप्पणी गरे । उनले भने, ‘अब विकासको बजेट बढाउनु पर्छ । यो सरकार बन्दै गर्दा र ७ बुँदे सहमति गर्दै गर्दा संविधान संशोधन गर्ने कुरा गरेका छौँ । विकास र समृद्धिसँग जोडिएको कुरामा सरकारको जोड छ । ग्रामीण अर्थतन्त्रलाई सुधार गर्नुपर्छ । युवा पलायन रोक्नु पर्छ । गाउँ केन्द्रित योजना अघि बढाउन सकेनौं भने अब गाउँ रित्तिँदैछ । सरकारले अब गाउँलाई छिटो छिटो हराभरा बनाउनु पर्छ । आम्दानीको स्रोत गाउँमै बनाउनु पर्छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७