अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैन : प्रदीप ज्ञवाली 


२०८१ मङ्सिर ५ बुधबार १२:०८ बजे

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको सम्पादकसँग अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।  

उपमहासचिव ज्ञवालीले राजनीतिलाई स्थायित्व दिने हो भने विकास र समृद्धिसँगै  जनतामा डेलिभरी पनि चाहिने उल्लेख गरे ।   ‘निरन्तरताको निगरानी लोकतन्त्रको खवरदारी हो । प्रचण्डले चौथो अभ्यास गरेपछि समस्या भयो । मसँग म्याजिक नम्बर छ भनेर त्यसको जगमा उभिएपछि हामी गम्भीर भयौं । यो गठबन्धनका परिवर्तनका मुख्य स्टेक होलडर हौं । लोकतन्त्र खतरामा पर्छ भनेर हामीले ७ बुँदे सहमति गरेको हो’, उनले भने ।

उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलको सहकार्यमा सरकार बनेपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको र जनतामा भरोसा जगाएको पनि उल्लेख गरे । उनले खलबलिएको अन्तर्राष्ट्रिय सम्मबन्धलाई सुधार गर्ने र सुशासनमा सुधारको संकेत दिने कुरा अहिलेको सरकारका सकारात्मक पक्ष भएको उल्लेख गरे । उपमहासचिव ज्ञवालीले शान्तिपूर्ण ढंगले सडकमा जाने कुरा ठिक भए पनि अहिले जुन ढंगको भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ त्यो गलत भएको दाबी गरे । विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्दै अहिले सकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा गरिएका आन्दोलनको कुनै औचित्य नभएको प्रष्ट पारे ।

उनले रामायणमा सीताले समेत अग्नि परीषा दिएको सन्दर्भ उल्लेख गर्दै रास्वपा सभापतिप्रति एमालेले कुनै प्रतिशोध नसाँधेको पनि उल्लेख गरे । रास्वपा र लामिछानेसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको भन्दै अहिले लामिछाने पक्राउ परेपछि एमालेप्रति लगाएको आरोप गलत भएको टिप्पणी गरे ।  उनले विधिको शासनमा सबैलाई कारबाही हुन्छ भन्दै कोशी प्रदेशका बहालवाला मन्त्रीको बचाउमा समेत एमाले नलागेके सन्दर्भ उल्लेख गरे । 

‘अहिले रास्वपामा अरुलाई कानुन लागे पनि हामीलाई लाग्नु हुन्न भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ त्यो गलत छ,’ ज्ञवालीले भने, ‘उर्जाको क्षेत्रीय व्यापार,  विपद् लगत्तै रामेछाप र सिन्धुली जोड्ने पुल २० दिनमै निर्माण गर्ने कुरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन जस्ता कुराहरु  सरकारका सकारात्मक कुरा हुन्। सरकार जनताले थाहा पाउने गरी गति दिनुपर्छ भनेर लागेको छ भन्ने सन्देश पनि हो ।’ उनले सबैतिर वेथिति मात्रै छ भन्ने कुराका विरुद्धमा दलहरु बोल्नु पर्ने र मर्यादामा मात्रै लोकतन्त्र रहने बताए ।  

उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको ‘फेक’ डकुमेन्ट, रवीन्द्र मिश्रसँग प्रचण्डले गरेको कुराकानी र प्रचण्डले भारतीय सञ्चार माध्ययमलाई दिएका अभिव्यक्ति जस्ता कुराहरु अस्थिरताको हुँइया चलाउनेहरुको योजनाबद्ध हर्कत भएको पनि उल्लेख गरे ।  उनले प्रचण्डका अभिव्यक्ति खेदजनक भएको समेत टिप्पणी गरे।  उनले मंसिर ७ मा एमालेले गर्न लागेको जागरण अभियान लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेकाविरुद्धको जागरण अभियान भएको पनि उल्लेख गरे ।  

‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागेका हौँ । यो अपील जनतामा लैजान खोजेको हो,’ उनले भने, ‘अहिलेको सरकारले जनतालाई सेवा दिने कुरामा कमजोरी गर्नु हुन्न ।  तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ त्यसले देशको मनोवल कमजोर बनाउने प्रयास भएको छ । राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्रै होइन सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो ।’ 

उनले डोल्पा, हुम्ला जस्ता विटक ठाउँहरुमा सडक पुग्नुलगायतका कामहरु लोकतन्त्रको सफल उदाहरण भएको पनि उल्लेख गरे । ‘हाम्रो यात्रा निरास छैन । भएका कुरालाई पर्दा लगाउने कुरा गलत छ,’ उनले भने  । उनले दुर्गा प्रसाई जस्तो प्रवृत्ति गलत भएको भन्दै कुनै बेला संरक्षण गर्ने कुरामा ध्यान नपुगेको सत्य भएको उल्लेख गरे । उनले लोकतन्त्रका लागि पार्टी बलियो हुनुपर्छ भन्दै लोकतन्त्र कमजोर भयो भने मिडिया पनि कमजोर हुने भएकाले सबैलाई लोकतन्त्र बलियो बनाउन सहयोग गर्न आग्रह गरे । उनले एमाले मात्रै होइन एमाले नेतृत्वको सरकार लाइन होइन अनलाइन प्रविधिमा जान्छौं भन्ने योजनाका साथ अघि बढेको उल्लेख गरे । 

स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले लोकतन्त्रमा सत्तामा हुँदा र नहुँदा पनि  जनताका बीचमा जाने छुट भएको भन्दै यस्तो प्रयोग छिमेकी मुलुक भारत मात्रै होइन अमेरिकालगायतका देशमा पनि रहेको उल्लेख गरे।  ‘यहि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ  हामीले जनतालाई अपील गर्नका लागि पनि मंसिर ७ गते जागरण सभाको आयोजना गरेका हौँ,’ उनले भने, ‘सडकमा जाने कुरा लोकतन्त्रको असल अभ्यास हो ।  सडक विपक्षीको मात्रै होइन ।’ उनले मंसिर ७ मा एक लाख मान्छे उतार्ने तयारी भएको पनि प्रष्ट पारे ।  कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीहरुका कुरा सुन्न र एमालेका केही धारणा बताउन अन्तरक्रिया कार्यक्रम राखेको जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७