उपनिर्वाचन : कांग्रेसका दुई जिसस प्रमुख र माओवादीका एक वडाध्यक्ष निर्विरोध


२०८१ मङ्सिर ५ बुधबार १२:४२ बजे

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार दुई जिल्ला समन्वय समिति र एउटा वडा अध्यक्षसहित तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मंसिर १६ गतेका लागि निर्वाचन तय भएको छ ।

जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका आयोगले जनाएको छ । आयोगका अनुसार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदमा विभिन्न राजनीतिक दलबाट २८९ र स्वतन्त्रबाट १२१ जना गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आयोगका अनुसार निर्विरोध निर्वाचित भएका ३ स्थान बाहेक ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाली काँग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टी सहित ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गरेनन् । निर्वाचन कार्यक्रम अनुसार मंसिर ६ अर्थात बिहीबारदेखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ ।

निर्वाचन आयोगबबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहितको अक्षरसः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ । साथै आयोगले मंसिर १६ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मतधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७