अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार


२०८१ मङ्सिर ५ बुधबार १२:०६ बजे

एम्स्टर्डम, नेदरल्यान्ड । अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न सफल भएकी एक किशोरीले महिला अधिकारका लागि लडेको भन्दै मङ्गलबार प्रतिष्ठित ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको छ । यसअघि ग्रेटा थनबर्ग र नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईलाई समेत अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार जितेका थिए । आयोजकले एम्स्टर्डममा आयोजित कार्यक्रममा मानव अधिकारकर्मी तथा वातावरण कार्यकर्ता १७ वर्षीया नीला इब्राहिमीलाई ‘किड्स राइट्स प्राइज’ द्वारा सम्मानित गरिएको जानकारी गराएको थियो । 

क्यानाडामा बस्दै आएकी इब्राहिमी आफ्नो देशमा बालिका र महिलाको अधिकारका लागि लडिरहेकी साहसी बालिका भएको आयोजकले बताएको छ ।  बाल अधिकारका लागि काम गर्दै आएको किड्सराइट्स फाउन्डेसनले भनेको छ, ‘अनलाइनमा भाइरल भएको शक्तिशाली विरोध गीत रेकर्ड गरेपछि उहाँले अन्य अफगानी केटीहरूलाई आफ्नो अधिकारको लागि जोड दिन र विश्वव्यापी कार्यक्रमहरूमा सार्वजनिक भाषण र वकालतको माध्यमबाट उनीहरूले सामना गर्नुपरेको अन्यायको विरुद्ध खडा हुन प्रेरित गरिरहनु भएको छ।’ 

सन् २०२१ को अगष्टमा अमेरिकी नेतृत्वको सेना फिर्ता भएको र सत्तामा फर्किएपछि तालिवान अधिकारीहरूले इस्लामी कानुनको कठोर व्याख्या लागू गरेका छन् । अहिले अफगानिस्तानमा महिला र केटीहरू प्राथमिक विद्यालय भन्दा बाहिर अध्ययन गर्न, पार्क, जिम वा ब्यूटी सैलूनमा जान सक्दैनन् । उनीहरू केवल पुरुष सहयोगीको साथ आफ्नो घर छोड्न सल्लाह दिइन्छ ।

अफगानिस्तानमा लागु भएको हालैको एक नैतिकतासम्बन्धी कानूनले पनि महिलाहरूलाई सार्वजनिक रूपमा अधिकारका कुरा गर्न प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसङ्घले यस स्थितिलाई ‘लैङ्गिक विभेद’ को संज्ञा दिएको छ, तर तालिबान सरकारले राष्ट्रसङ्घको यस्तो चिन्तालाई ‘निराधार र केही भागेका महिलाहरूको भनाइमा आधारित प्रोपोगान्डा भन्ने गरेको छ ।

‘अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार जित्नुको अर्थ अफगानी महिला र बालिकाको आवाज विश्वभरि गुञ्जिनेछ’, पुरस्कारबाट सम्मानित भएपछि इब्राहिमीले भनिन् । ‘हामी सबैले उनीहरूलाई सबैभन्दा अँध्यारो समयमा पनि शक्ति र आशा दिइरहनु पर्छ’, पुरस्कार ग्रहणपछि उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इब्राहिमीले गत वर्ष अफगानिस्तानमा तालिवान सरकारको स्थापना र तत्कालीन सरकारको पतनपछि पाँच दिन लगाएर आफ्नो परिवार कसरी भागेर पाकिस्तान पुगे भन्नेबारे दिएको जानकारीले विश्वको ध्यान उनीप्रति तानेको थियो । उनी अहिले क्यानडामा बस्छिन् । 

गत वर्ष जेनेभामा आयोजित मानव अधिकार शिखर सम्मेलनमा उनले भनिन्, ‘म आफ्नो नयाँ घरमा सुरक्षित महसुस गरिरहेकी छु, तर हरेक दिन म अफगानिस्तानमा छोडिएका ती किशोरीहरूको बारेमा सोच्छु ।’ उनले थपिन्, ‘उनीहरूलाई बाहिर निकाल्ने र संरक्षण दिने कुनै आशा नहुँदा अफगानिस्तानमा निराश जिन्दगी बाँच्न छोडिएको छ ।’ इब्राहिमीलाई ४७ देशका १६५ मनोनयनबाट छानिएको थियो र उनलाई नोबेल पुरस्कार विजेता यमनी पत्रकार तवाक्कोल कर्मनले ‘किड्स राइट्स प्राइज’ पुरस्कारद्वारा प्रदान गरेका थिए । रासस / एएफपी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७