रूसद्वारा युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण


२०८१ मङ्सिर ६ बिहीबार १९:५५ बजे

किभ  । रुसले युक्रेनमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरू गरेको रुसले पहिलोपटक अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । रुसले बिहीबार बिहान अस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार गरेको जनाएको हो ।

युक्रेनी वायुसेनाले डेनिप्रो क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । आक्रमणबाट कम्तीमा १५ जना घाइते भएका छन् । रुसले भने आईसीबीएम प्रहारबारे केही उल्लेख गरेको छैन । आईसीबीएमका साथै रुसले अन्य क्षेप्यास्त्रसमेत प्रहार गरेको जनाइएको छ । युक्रेनी सेनाले रुसले प्रहार गरेका ६ वटा ‘के–१०१’ क्रुज क्षेप्यास्त्र खसालेको जनाएको छ ।

युक्रेनले रुसमाथि बेलायतमा निर्मित लामो दूरीको ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र प्रहार गरेको जवाफमा मस्कोले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । घटनाबारे बेलायत सरकारले भने कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ । तर बेलायतका रक्षामन्त्री जोन हेलीले ’युक्रेनले युद्धको मैदानमा गरेको कारबाही आफैं बोलेको’ प्रतिक्रया दिएका छन् । रुसी सेनाले भने युक्रेनी भूभागबाट प्रहार गरिएका दुईवटा क्षेप्यास्त्र निस्तेज पारेको जनाएको छ।

केही दिनअघि अमेरिकाले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) लगायतका लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएका थिए । एटीएसीएमएससँगै अमेरिकाले युक्रेनलाई लकहीड मार्टिन बलिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराएको छ । साथै, अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार मात्रै युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका थिए । युक्रेनले गत मंगलबार अमेरिकामा निर्मित पाँचवटा एटीएसीएमएसबाट रुसी भूमिमा आक्रमण गरेको थियो ।

रुसी अधिकारीहरूका अनुसार तीमध्ये चारवटालाई रुसी प्रतिरक्षा प्रणालीले निस्तेज पारेको थियो । युक्रेनलाई आधुनिक हतियार उपलब्ध गराउने र त्यसको प्रयोगलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को संलग्नताका रूपमा हेर्ने बताउने गरेका छन् । त्यसको जवाफ रुसले परमाणु हतियारको प्रयोगले दिने उनको चेतावनी छ ।

अमरिकाका आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनलाई दिँदै आएको सैन्य लगायतका सहयोग रोक्ने बताउँदै आएका छन् । जनवरी २० देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लागेका ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुस–युक्रेन युद्ध २४ घण्टाभित्र रोक्ने बताएका थिए । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७