‘पर्यटकीय विकासका लागि लुम्बिनी सर्किटको विकास’


२०८१ पौष ६ शनिबार २३:३६ बजे

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान महोत्सवको आज उद्घाटन गर्दै उनले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किट र  प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताए ।  

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाएर तिलौराकोटदेखि नवलपरासीको रामग्रामसम्मका सम्पदालाई जोड्ने गरी पर्यटन पूर्वाधार निर्माण गर्ने बताए । ‘लुम्बिनी आउने पर्यटकलाई एक अर्कासँग जोड्ने गरी यो अवधारणा अघि सारेका हौँ । बृहत् रूपमा लुम्बिनी सर्किटको अवधारणा अगाडि सारेका छौँ’, उनले भने। 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेगरी पर्यटकीयस्थललाई नवीनतम रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । उद्यानमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माणदेखि विभिन्न कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगिएको बताए ।

बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरेको बताउँदै उनले अब देवदहमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार अभियानलाई तीव्र पार्न आह्वान गरे । बुद्ध सामुदायिक वन उपभोक्ता समूहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन विसं २०५६ मा स्थापना भएको थियो । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७