ओलीविरुद्ध भीम रावलको आरोप प्रचण्डको ‘कपी पेस्ट’ : प्रदीप ज्ञवाली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पूर्व उपाध्यक्ष भीम रावलले लगाएका आरोप प्रचण्डको फोटोकपी (कपी पेस्ट) भएको टिप्पणी गरेका छन् ।
बिहीबार केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकबारे जानकारी दिने क्रममा उनले रावलले लगाएका आरोपमा माओवादी अध्यक्ष प्रचण्डले लगाउने गरेको आरोपमा फोटोकपी रहेको बताएका हुन् ।उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्काशित नेता भीम रावलले हिजो गरेको गालीगलौजले उनीभित्र कति नकारात्मक कुराले भरिएको भन्ने प्रष्ट भएको बताए ।
बैठकपछि ज्ञवालीले ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्ट मात्र भएको टिप्पणी गरे । ‘२०७७ कात्तिकमा प्रचण्डले १९ पेजको आरोप लगाएका थिए । एक किसिमले कपी पेस्ट हो । उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भयो । गालीगलौजले देश बन्दैन । एक जमानामा प्रचण्ड र बाबुराम डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नु हुन्थ्यो । रवि लामिछानेजीहरू त्यसैगरी उदाउनु भयो’, ज्ञवालीले भने, ‘हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौं । देश बनाउने अभियानमा छौं । एमालेले त्यस्तो कुरालाई महत्व दिएर बस्दैन महत्वपूर्ण पनि ठान्दैन ।’
पुस १० गते बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्काशन गरेको थियो । त्यसपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई ओलीले निरंकुश शैली देखाएर कारबाही गरेको टिप्पणी गरेका थिए। २ घण्टा सम्बोधन गरेका उनले एमाले अध्यक्ष ओलीमाथि प्रश्नैप्रश्न गरेका थिए । साथै रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा पनि गरेका थिए ।