नयाँ वर्षकै दिन २४ वर्षीय छोराले गरे आमा र चार बहिनीको हत्या
काठमाडौं । नयाँ वर्षमा भारतको लखनउमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । एक युवकले आफ्नै परिवारका पाँच जनाको विभत्स हत्या गरेका छन् । घटनास्थलबाट प्रहरीले आरोपीलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सूचना पाए लगत्तै प्रहरी र फोरेन्सिक टोलीले घटनास्थलमा पुगेर सूचना संकलन गरेको थियो । घटना नाका थाना क्षेत्रस्थित होटल शरणजीतमा भएको हो । लखनउ आगराको कुबेरपुर क्षेत्रको तेहरी बगियाा इस्लाम नगरको एक होटेलमा २४ वर्षीय अरशद आफ्नी आमा आस्मा र चार बहिनी आलिया (९), अल्सिया (१९), अक्सा (१६), रहमीन (१८) सँग बसेका थिए । अरशदले कुनै विवादमा होटलको कोठामा पाँचै जनाको हत्या गरेको लखनउ प्रहरीले जनाएको छ ।
बुधबार बिहान प्रहरी खबर पाएपछि तुरुन्तै घटनास्थल पुगेको थियो । अभियुक्त अरशद त्यहाँबाट भागेका छैनन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । रगतले लतपतिएको शव देखेर मानिसको मन काँप्यो । प्रहरीले मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ ।
डीसीपी रविनाले घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको बताइन् । ‘अभियुक्त पक्राउ परेका छन् । उनले यस्तो कदम किन उठाए भन्नेबारे अनुसन्धान भइरहेको छ ? फिल्ड युनिटलाई बोलाएर प्रमाण संकलन भइरहेको छ । यस सम्बन्धमा विस्तृत अनुसन्धान र थप कानुनी कारबाही भइरहेको छ,’ उनले भनिन् । एजेन्सी