पत्रकार श्यामसुन्दर पुडासैनीको निधन
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ ह्यान्ड्स अस्पताल, चावहिल पुर्याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
उनको मृत्युको कारण खुलिसकेको छैन । तर, केही दिनयता उनी बिरामी रहेको उनीसँगै कार्यरत पत्रकार दीपेन्द्र सापकोटाले जानकारी दिए । अस्पतालमा नियमित जाँच गर्दै उनी कार्यालय जाने गरेका थिए । नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।
करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए । हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत उनले यसअघि माउन्टेन टेलिभिजन, आजतक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतका सञ्चार माध्यममा काम गरेका थिए ।