एकै विद्यालयका किशोर–किशोरी हराएको एक सातापछि जंगलमा मृत फेला


२३:२२ बजे

दैलेख । दैलेखमा एक सातादेखि घरबाट भागेका किशोर–किशोरी मृत भेटिएका छन् । पुस १३ गते शनिबार हराएका उनीहरु पुस २१ आइतबार जंगलमा मृत फेला परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत भेटिनेमा भगवतीमाई गाउँपालिका–४ मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक रहेका छन्।

उनीहरु सोही गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालय मन्घरमा पढ्थे । मानसिंह कक्षा १० मा पढ्थे भने शर्मिला कक्षा ९ अध्ययनरत थिइन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालले उनीहरू अघिल्लो शनिबार (पुष १३ गते) घरबाट हराएको जानकारी प्रहरीलाई आएको बताए ।

उनले भने, ‘उनीहरु हराएको खबर आएको दिनदेखि नै प्रहरीले खोजी गरिरहेको थियो । खोजी गर्दै जाने क्रममा घरभन्दा केही टाढा पर्ने तुसोरे जङ्गलमा मृत अवस्थामा भेटिएका छन् । हाम्रो प्रारम्भिक अनुसन्धानले दुईबीच प्रेम सम्बन्ध रहेको र घरबाट बिहे गर्न अनुमति नदिएको हो कि भन्ने अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ उनीहरु एउटै डोरीमा बाँधिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरुले आत्महत्या गरेको आशंका गरिएको छ । ती किशोर–किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७