बाबुराम भट्टराईको खबरदारी : ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउँदैछ
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तीन ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउने भन्दै खबरदारी गरेका छन् । आज (बिहीबार) पार्टीको पालुङटार नगरपालिका नगर सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले मुख्य दलका शीर्ष नेतृत्वकै कारण देश रसातलमा पुगेको आरोप समेत लगाए ।
‘२०७९ को चुनाव हेर्नुभयो, त्यसयता तीन टाउकोका हर्कत देख्नुभयो, यिनले देशलाई रसातलतिर लगे,’ उनले भने, ‘जनताले विकल्प खोजेका छन्, यिनका विरुद्ध ठूलो आँधीबेहरी आउँदै छ ।’ ‘सुगौली सन्धिदेखि आँखा दह्रो राखेर सुँड घुसार्न पाइन्छ कि भन्ने शक्ति पनि छन्, यिनीहरूको भ्रष्टाचार, कुबुद्धि, मुर्खताले गर्दा देश गरिबी र यो दुष्चक्रमा पर्यो,’ उनले भने,‘बाह्य शक्तिले ब्वाँसो जसरी लुछ्ने प्रयत्न गरिरहेका छन् ।’
अहिलेको अवस्थामा नयाँ वैकल्पिक शक्ति बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो । नयाँ ढंगको वैचारिक शक्ति चाहिन्छ भनेर २०७३ सालमा घोषणा गरेर अघि बढेको उनले बताए । ‘गत चुनावको संकेत देखिहाल्नुभयो, २०८४ मा ठूलो उभार आउने देखेको छु,’ उनले भने, ‘लोकतान्त्रमा आधारित समाजवादको विचारवरपरि नै अग्रगामी वैकल्पिक शक्तिको धुव्रीकरण हुन्छ ।’