सिंहदरबारमा विपक्षी दलहरुको संयुक्त बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बस्न लागेको हो । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने बताइएको छ ।
हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र अलोकप्रिय काम गरेकाले सरकारको आयु छोटिँदै गएको प्रतिक्रिया दिएका थिए । केही दिनअघि प्रचण्ड र माधव नेपालबीच भएका छलफलमा पनि सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय भएको थियो ।