रविसहितको थुनछेक आदेश तयारी, कास्की अदालतको विश्राम कक्षमा रवि–निकिता
अदालत परिसरमा सुरक्षा व्यवस्था कडा
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको सुनाउने तयारी गरेको छ । आज बेलुकासम्ममा आदेश हुने अदालत स्रोतले जनाएको छ । थुनछेक बहस सकिएसँग राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा जम्मा भएका छन् ।
बिहीबार सरकारी वकिलको तर्फबाट बहस सकिएपछि रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका हुन् । धेरैजसो नेताहरू अदालत बाहिर निर्णय सुन्न पर्खिरहेका छन् । केही शीर्ष नेताहरू भने अदालत बाहिर र भित्र गरिरहेका छन् । रवि समर्थक उनी छुट्ने प्रतिक्षामा छन् ।
प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् । निषेधित क्षेत्र बाहिर रास्वपा कार्यकर्ता र सहकारी पीडित छन् । अदालतभित्र रवि–निकितालगायत विश्राम कक्षमा राखिएको छ । देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा उक्त मुद्दाको बहस भएको थियो ।
लामिछानेसहित पूर्व डीआइजी समेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् । यदि रविलाई छोड्ने आदेश अदालतले दिए पनि उनी थुनामुक्त भने हुने छैनन् । अन्य स्थानमा पनि मुद्दा चलेकाले पुनः पक्राउ गरिहाल्ने तयारी छ ।