विपक्षी ६ दलको बैठक : तत्काल संसद बोलाउन दबाब दिने 


२०८१ माघ २ बुधबार १५:२० बजे

काठमाडौं । विपक्षी ६ दलको वैठकले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।

बैठकमा चार विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिएका छन् । सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने निर्णय भएको उनले बताए ।

‘सरकारलाई सदन बोलाउन दबाब दिने विषयमा छलफल भयो। सरकारले विपक्षी दलहरूको आवाजलाई नसुन्ने हो भने विशेष अधिवेशनसमेत माग गर्नुपर्ने हुन सक्छ । हामीले यही विषयमा छलफल गरेका छौं,’ उनले भने । संसद छलेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।

‘संसद अधिवेशन नबोलाउने तर अध्यादेशबाट शासन चलाउन खोज्ने सरकारको कार्यशैलीप्रति सबै विपक्षी दलको आपत्ति नै रह्यो,’ उनले सुनाए । यस्तै सदनमा विचाराधीन विधेयक पनि अध्यादेशका रूपमा जारी भएको बताउँदै यसलाई बैठकले गैरसंवैधानिक ठहर गरेको उनको भनाइ छ । ‘यी विषयमा हामीले घनिभूत छलफल गरेका छौं, हाम्रो साझा धारणा बिहीबार प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्नेछौं । त्यसका लागि बिहीबार नै पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ,’ उनले भने ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा, आम जनता पार्टीलगायत दलहरूका शीर्ष नेताहरू सहभागी थिए । बैठकमा प्रचण्ड, रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेताहरूबीच कुराकानी भएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७