सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक


२०८१ माघ २ बुधबार २१:५० बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।

कीर्तिपुरमा आज आयोजित २७औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मी तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताए । उनले विपद्को समयमा अत्यावश्यक सामग्रीको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालनसम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।

‘आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ’, गृहमन्त्री लेखकले भने, ‘सरकारी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्थालगायत समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्निर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’ सचेतना बढाउन परम्परागतसँगै नयाँ प्रविधिलाई अधिकतम प्रयोग गरिने उनको भनाइ थियो ।

जाजरकोटलगायत भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन रु ५० हजार सहयोग गर्ने अस्थायी निर्माणसम्वन्धी मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भई लागू भइसककेको गृहमन्त्री लेखकले जानकारी दिए । ‘स्थायी आवास निर्माणसम्बन्धी कार्यविधि कार्य समितिको बैठकबाट पारित भइसकेको छ’, उनले भने, ‘जाजरकोट भूकम्पबाट भएको क्षतिको आँकलन यसै महिनादेखि प्रारम्भ गरिनेछ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७