सामाजिक सञ्जालमार्फत ‘आतंक’ फैलाउनेमाथि प्रहरीले थाल्यो कारवाही : सात जना पक्राउ


२२:३४ बजे
अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत ‘आतंक’ फैलाउनेविरुद्ध  कडाइका साथ कारबाही थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही तीब्र पारेको हो । 

प्रहरीले सामाजिक सञ्जालबाट आतंक फैलाएको र गुण्डागर्दीमा सक्रिय रहेको आरोपमा काठमाडौंबाट सात जना पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट उनीहरुलाई आज पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् ।

यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ । कार्यालय प्रमुख एसएसपी रमेश बस्नेतले उनीहरुले सामाजिक सञ्जालमार्फत देखाएको व्यवहारका आधारमा पक्राउ गरिएको जानकारी गराउँदै अब थप अनुसन्धान हुने बताए । सामाजिक सञ्जालमा खुकुरी देखाउने र गुण्डागर्दीमा रहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्तै युवाहरुको सूची नै बनाएको जनाएको छ । उपत्यका अनुसन्धान कार्यालयको टोलीले विभिन्न क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा लागेका करिब ४५ जना गुण्डागर्दी गर्नेहरूको सूची तयार पारेको छ । उनीहरूको विगतको अपराधका घटनालाई आधार बनाएर पहिलो सूची तयार पारिएको जनाइएको छ । 
प्रहरीले तयार गरेको सूचीमा सानो भर्‍याङका मिलन गुरुङ (चक्रे मिलन) देखि धादिङका राधे भनिने राधाकृष्ण भण्डारी समेत छन् । उनीहरू दुवै अपराधको दुनियाँमा चर्चित नाम हुन् । 

त्यस्तै, भण्डारी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी (चरी) माथि नागढुंगामा गोली प्रहार गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरू अहिले देखिने गरी गुण्डागर्दीमा नलागे पनि समूह बनाएर आफ्नो उपस्थिति देखाउन टिकटकमार्फत उच्छृंखल भिडियो पोस्ट गर्ने गरेको प्रहरीको दाबी छ । सूचीमा कलंकी क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा लाग्ने अभिषेक सिंह, न्युरोडलाई आधार बनाउने बब शर्मा, ठमेल क्षेत्रलाई आधार बनाउने सानुकान्छा गुरुङ र साजन गुरुङ, बालाजु क्षेत्रलाई आधार बनाउने दिपेश धिताल छन् ।

यस्तै बसपार्क क्षेत्रलाई आधार बनाउने सुरेश डंगोल र सानुभाइ भनिने युवराज गुरुङ, बौद्ध क्षेत्रलाई आधार बनाउने श्याम लामा, गौशाला क्षेत्रलाई आधार बनाउने धिरेन प्रधानमाथि उपत्यका प्रहरीको टोलीले निगरानी थालेको छ । त्यस्तै, ललितपुर जिल्लालाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न राजु बोगटीलाई समेत प्रहरीले निगरानीमा राखेको छ । श्याम लामा, राधे भण्डारी र चक्रे मिलनका पछिल्ला टिकटक भिडियोमार्फत उनीहरूमाथि निगरानी थालेको छ । कार्यालयको प्रहरी टोलीले सूचीमा राखेकाहरू गुण्डागर्दी आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएकाहरू हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७