सुदूरपश्चिम प्रदेशमा संसदीय समितिका सभापति चयन गर्न चुनाव हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका रिक्त संसदीय समितिका सभापति चयन गर्न आज (शनिबार) निर्वाचन प्रक्रिया शुरु हुँदैछ । मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीबीचको विवादले दुई पटकसम्म स्थगित भएको प्रक्रिया शुरु भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सार्वजनिक कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ। भोलि बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ । १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । भालि नै परिणाम घोषणा गरिनेछ । हाल सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र विशेषाधिकार समिति सभापतिविहीन छन् । पुसमा भएको भागवण्डाअनुसार कांग्रेसले दुई, एमाले र नागरिक उन्मुक्तिले एक–एक समितिको नेतृत्व गर्नेछन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति पाउने छ ।