देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

‘कोशी सभ्यता बोकेको प्रदेश, यसको साइनो द्वापर युगसँग छ’


२०८१ फाल्गुण २७ मंगलबार ०९:३० बजे

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् ।  कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए ।

यस प्रणालीमा जोकोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । ‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौं । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौं । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनु पर्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘नागरिक सर्वाेच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसर सिर्जना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुु परेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नु पर्छ ।’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे । यसअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३ औ दीक्षान्त समारोहलाई मोरङको गोठगाउँमा सम्बोधन गरेका थिए । 

‘कोशी सभ्यता बोकेको प्रदेश, यसको साइनो द्वापर युगसँग छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक हिसाबले कोशी प्रदेश अत्यन्तै सुन्दर रहेको बताएका छन् । मंगलबार कोसी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा ओलीले आफै निर्वाचित भएको प्रदेश भएकाले आफूलाई कोशीबारे जानकार रहेको बताए ।

ओलीले कला संस्कृति, जातजाति, हिमाल आदि धेरै विषयले कोसी प्रदेश महत्वको भएको चर्चा गरे । कोशीबाट ऐतिहासिक सभ्यता सुरु भएको र प्राकृतिक हिसाबले सुन्दर प्रदेश भएको ओलीको भनाइ छ । ‘प्रकृति, पुर्खा र इतिहासप्रति हामी गर्व गर्न सक्छौं’, उनले भने । ओलीले कोशी प्रदेशको मुख्य नदी सप्तकोशीमा फुल्चोकीदेखि रोशी हुँदै र साँगाको ढलदेखिको पानी आउने गरेको सुनाए ।

उनले हलेसी, पाथीभरा, अर्जुनधारा, किचकबध, बर्जुतालको चर्चा गरे । ती क्षेत्रको साइनो द्वापर युगसँग भएको ओलीको भनाइ छ । सगरमाथा संवादको विषय वातावरण, हिमाल र विकाससँग सम्बन्धित भएको बताउँदै ओलीले हिमाल पर्यटन बढाउने लक्ष्य रहेको बताए । ‘यति धेरै अग्ला हिमाल थुप्रै भए पनि आठ हजार मिटरमाथिका हिमाल पर्यावरणीय हिसाबले महत्वपूर्ण छन्’, उनले भने, ‘नदीहरूको महत्व पनि उत्तिकै छ । प्राकृतिक हिसाबले यो उर्वर र ठूलो इकोसिस्टम पैदा गर्ने कोशी प्रदेशमा छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७