बाबुरामको कटाक्ष : कम्युनिष्ट भनेर कार्यकर्ता र समाजवादी भनेर जनता ठग्ने ?

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चार दल सम्मिलित समाजवादी मोर्चाप्रति कटाक्ष गरेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चालाई ‘जनता ठग्ने चाल’ भन्दै कटाक्ष गरेका हुन् । ‘कि ‘कम्युनिष्ट’ भनेर कार्यकर्तालाई ठग्ने, अनि ‘समाजवादी’ भनेर जनतालाई ठग्ने दोहोरो चाल हो ? यसरी दुईवटा डुङ्गामा खुट्टा राखेर कता पुगिएला ?’, उनले शुक्रबार (आज) साँझ फेसबुकमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘केही पुराना ‘कम्युनिष्ट’ घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफूलाई ‘समाजवादी मोर्चा’ भन्ने गरेका छन् । ‘कम्युनिष्ट’ हरूको मात्र मोर्चा भएपछि त्यसलाई ‘कम्युनिष्ट मोर्चा’ भने भइहाल्थ्यो । यदि ‘कम्युनिष्ट’ भन्न लाज लागेको भए र ‘समाजवादी’ भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै ‘समाजवादी’ राखे भइहाल्थ्यो!’
यो भयङ्कर वैचारिक र नैतिक विचलन भएको उनले बताएका छन् । ‘यसको सट्टा विगतका कम्युनिष्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकताअनुरूप उत्तर–पुँजीवादी र उत्तर–साम्यवादी वैचारिक–राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि ?’