इलामको चिया बगान र कारखाना अवलोकन गर्दै चिनियाँ टोली


२०८१ चैत ३ आइतबार ०१:२१ बजे

इलाम । चिनियाँ नागरिकको एक समूह चिया कारखाना र बगानको अध्ययन र अवलोकनका लागि इलाम पुगेको छ। इलामको चिया खेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधनको विधि र किसानहरुले अपनाएको चिया खेती प्रविधिको विषयमा अध्ययन–अवलोकनका लागि नेपालस्थित चिनियाँ राजदूतावासका आर्थिक सल्लाहकार तथा अन्य विशिष्ट प्रतिनिधिहरू इलाम भ्रमणमा पुगेका हुन् ।

टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको समन्वयमा चिनियाँ टोलीले इलामको ऐतिहासिक इलाम चिया बगान तथा उद्योग अवलोकन गरेको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापाले चिनियाँ टोलीलाई स्वागत गरेका छन् । उनले नेपाल र चीनबीचको चिया सम्बन्ध पुरानो रहेको बताउँदै चियाले नेपाली नागरिक र चिनियाँलाई जोड्न विशेष भूमिका खेलेको बताएका छन् । 

नगर प्रमुख थापाले भने, ‘नेपाल र चीनको सम्बन्ध सांस्कृतिक, ऐतिहासिक र व्यापारिक रूपमा गहिरो छ । चिया हाम्रो साझा सम्पदा हो, जसले दुई राष्ट्रका जनतालाई भावनात्मक रूपमा जोडेको छ ।’ उनले करिब १५० वर्षअघि नेपालमा चिया खेतीको सुरुवात चिनियाँ बीउबाट भएको उल्लेख गर्दै आज नेपाललाई चियाले अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

टी एलायन्स अफ नेपालले चीन सरकारका उच्च पदस्थ अतिथिहरूलाई स्वागत गर्दै चियाको प्रवर्द्धनमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।  संस्थाका प्रतिनिधिहरूले सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय र झाङझोउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले आयोजना गरेको विशेष चिया तालिम प्रभावकारी भएको जानकारी गरायो । सो तालिमले नेपाली चिया व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गरेको टी एलायन्सले जनाएको छ । टी एलायन्स अफ नेपालले चिया परीक्षण (टी टेस्टिङ) कार्यक्रम पनि आयोजना गरेको थियो । जसअन्तर्गत अतिथिहरूले नेपाली चियाका विभिन्न स्वादहरूको अनुभव लिएका थिए ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्षले टी एलायन्स अफ नेपाललाई शुभकामना व्यक्त गर्दै यस्ता भ्रमणहरूले नेपालको चिया बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । चिनियाँ राजदूतावासका प्रतिनिधिहरूले नेपाल–चीनबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै नेपालको चिया उद्योगको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ । इलामको ऐतिहासिक चिया बगान र उद्योग अवलोकनसँगै, कृषि तथा व्यापारिक साझेदारीलाई प्रवर्द्धन गर्न दुवै पक्ष प्रतिबद्ध देखिएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७