गोलाबाट केन्द्राध्यक्ष नियुक्त नगरिए एसईई प्रक्रियामा सामेल नहुने मुख्यमन्त्रीको चेतावनी


२०८१ चैत ४ सोमबार १८:४८ बजे

महोत्तरी । यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराएका छन् । परीक्षा सञ्चालन हुन तीन दिनमात्र बाँकी रहँदा मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक नभई गोला प्रथाद्वारा तय गर्न समितिको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्री सिंहले एसइई परीक्षा सञ्चालनबारे प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले समसामयिक सुधार गरिँदै अघि बढ्न यसअघि नै जिल्ला परीक्षा समन्वय समितिलाई केन्द्राध्यक्ष गोला प्रथाबाट नियुक्त गर्न पत्राचार गरिएको स्मरण गराएका छन् । तर केही जिल्ला परीक्षा समन्वय समितिले पुरानै प्रक्रियाअनुसार केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री सिंहले यसबारे विज्ञप्ति प्रसारित गरेरै ध्यानाकर्षण गराएका हुन् ।

आइतबार साँझ सिंहका तर्फबाट प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रसारित गरेको विज्ञप्तिमा परीक्षा सञ्चालनबारे परीक्षाको मर्यादाका लागि सम्बन्धित केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नतोकिने यसअघि भएका निर्णयको स्मरण गराइएको छ । केन्द्राध्यक्ष गोला प्रथाबाट तोकिँदा निष्पक्षता र परीक्षाको मर्यादा दुवै पक्षमा सकारात्मक सन्देश र परिणाम प्राप्त हुने अवस्थाको अवज्ञा केही जिल्लाबाट भएको भन्दै यस्तो भए परीक्षा सञ्चालन प्रक्रियाबाट मधेस सरकार अलग्गिनेसम्मको ध्यानाकर्षण विज्ञप्तिमा उल्लेख छ ।  

यता जिल्ला परीक्षा समन्वय समितिहरूले यसअघिका वर्षहरूझै केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक तोकेर नै प्रक्रिया अघि बढाएका छन् । महोत्तरीमा पनि यसअघिका वर्षहरूमा भइआएको व्यवस्थाबमोजिम नै केन्द्राध्यक्ष तोकिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए । फरक प्रक्रिया अघि बढाउन तयारीका लागि पर्याप्त समय नहुनु जिल्ला परीक्षा समन्वय समितिको बुझाइ छ । परीक्षाको मुखमा जिल्ला परीक्षा समन्वय समिति र  प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिबीच बढ्ने असमझदारीले परीक्षा गञ्जागोल हुने चिन्ता शिक्षाविद्हरूले व्यक्त गरेका छन् ।

‘परीक्षा मर्यादित र निष्पक्ष बनाउन समसामयिक सुधार गरिँदै लगिनु सकारात्मक कुरा हुन्, यद्यपि यी कुरामा परीक्षासम्बद्ध सबै पक्षबीच आपसी समन्वय आवश्यक हुन्छ’, ३० वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएका बर्दिबास–१ का केदारबहादुर कोइराला भन्छन्, ‘अहिले अब प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिबीच असमझदारी नभई समन्वय हुन आवश्यक छ ।’

महोत्तरीमा यसपालि एक सय सात सामुदायिक र ३० संस्थागत विद्यालयका गरी एक सय ३७ विद्यालयका १० हजार नौ सय ४६ जना एसइई परीक्षामा सामेल हुँदैछन् । परीक्षा सञ्चालनका लागि जिल्लामा गत वर्ष २०८० कै ३२ केन्द्र कायम गरिएका छन् । परीक्षा सञ्चालनबारे केन्द्राध्यक्ष नियुक्तदेखि जनशक्ति व्यवस्थापन र अन्य सबै तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रजिअ कवारीको भनाइ छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७