गृह मन्त्रालयले गर्यो आइजीपी कुँवरको बिदाइ, को आउँलान् नयाँ ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रमुख आइजीपी बसन्तबहादुर कुँवरलाई बिदाइ गरेको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै गृहमन्त्री लेखकले शुभकामनासहित उनको बिदाइ गरेका हुन् ।
मन्त्री लेखकले कुँवरलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै कार्यकाल सफलताका साथ सम्पन्न गरी निवृत्त पछिको व्यवसायिक जीवनको प्रगतिको कामना गरेका थिए । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढि प्रगतिको लागि शुभकामना दिए ।
सो अवसरमा आइजीपी कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामो यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए । आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकूल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । आईजीपी कुँवरसहित उनका ब्याचका नौं उच्च अधिकृतहरू सोमबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले अवकास पाएसँगै सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ प्रहरी प्रमुख चयन गर्नेछ । प्रहरी प्रमुख बन्न दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये एक प्रहरीको ३१औं प्रहरी प्रमुख बन्ने छन् ।