सकियो पुष्प मेला : कतिको भयो कारोबार ?

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औं पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ । चार दिनसम्म चलेको मेलामा एक करोड दश लाख ७० हजारभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।
पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएसनका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए । हाल नेपालका ५२ जिल्लामा दुई ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एशोसिएसनले जनाएको छ ।
जसमा एक हजार एक सय बढी पुष्प व्यवसायी संलग्न छन् । यस क्षेत्रमा करिब रु आठ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार पाँच सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ । नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार रु तीन अर्ब ६८ करोडभन्दा बढी रहेको एशोसिएसनले जनाएको छ ।