यो गठबन्धन सबै पार्टीको बाध्यता : सभापति देउवा


२०८१ चैत ४ सोमबार ००:४० बजे

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । कांग्रेस संघीय मामिला समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले संघीयता कार्यान्वयन गर्दा जनताप्रति उत्तरदायी भई हरेक  सुखदुःखमा साथ दिने कुरामा जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । 

‘संघीयतामा सबै तहलाई जिम्मेवार बनाउने कुरामा ध्यान दिँदै स्थानीय तह र प्रदेशलाई अधिकार दिनुपर्छ । हिमाल, पहाड, तराई सबै जातजातिको प्रतिनिधित्व र समन्वय मिलाउने र देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर अधिकार दिने कुरामा सबै गम्भीर बनौँ । देशको एकतालाई कुनै हालतमा खल्बलिन दिनु हुँदैन’, सभापति देउवाले  भने । उनले पार्टीलाई चलायमान बनाउन विभागहरूले खेलेको भूमिकाको प्रशंसा गरे।

‘पार्टीका सबै विभागहरूले राम्रो काम गरिरहेका छन्, यसले पार्टीलाई चलायमान बनाउन र साथीहरूमा उत्साह आएको छ, यो राम्रो हो’, उनले भने, ‘अहिलेको संवैधानिक व्यवस्थाअनुसार कुनै पनि पार्टीको बहुमत आउन कठिन छ । यो गठबन्धन सबै पार्टीको बाध्यता बनेको छ तर अब बहुमत ल्याउने गरी हामीले क्रियाशील हुन आवश्यक छ’, उनले भने ।कांग्रेस उपसभापति धनराज गुरुङले जनतामाथि कर लगाएर मात्रै संघीयता बलियो नहुने भन्दै जनतालाई उत्पादनमा जोड्न आवश्यक रहेको धारणा राखे । ‘उत्पादन वृद्धि गर्न सके मात्रै राज्य बलियो हुन्छ, पुँजी निर्माणलाई प्राथमिकता दिनुपर्छ । संघीयताको पुनःसंरचना, संसद्को संख्खा घटाउने, उत्पादनलाई बढाउनेतिर ध्यान दिनुपर्छ’, उनले भने । 

उपसभापति गुरुङले उत्पादन र जडिबुटीको बजारीकरणका माध्यमबाट राजस्व वृद्धि र देशलाई समृद्ध बनाउन सकिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘वितरणमुखी बजेटका कारण विकास निर्माणमा समस्या छ । तलदेखि माथिसम्म वितरणमुखी बजेट विनियोजन गर्ने अनि संघीयता कमजोर भयो भन्ने कुरा ठीक हैन,  हामी सुधार नहुने हो भने सङ्घीयता बलियो हुन सक्दैन’, उनले भने, ‘हामीले संविधानमा पुनरावलोकन गर्नु आवश्यक छ । हामीले आफ्नै खुट्टामा उभिएर काम गर्ने सोच बनाउनुपर्छ ।’

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले संघीयता कार्यान्वयन गर्दा देखिएका राम्रा पक्षको पहिचान गर्दै कार्यान्वयन हुन नसकेका विषयमा गम्भीर छलफल आवश्यक रहेको बताइन् । उनले संघ र प्रदेशका सांसदको संख्या घटाउने र कर्मचारी संयन्त्रलाई प्रभावकारी बनाउने, र तीनै तहका सरकारबीच प्रभावकारी समन्वयको माध्यमद्वारा  काम गर्नुपर्नेमा जोड दिइन् । सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूगोलको आवश्यकतामा आधारित रहेर संघीयता कार्यान्वयन हुन नसकेको भन्दै संघीयतालाई बलियो बनाउन कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले संघीयताअनुसार अभ्यास लागू भएको सात वर्ष बितिसक्दा समेत प्रदेशलाई अधिकार सम्पन्न बनाउन नसक्दा समस्या उत्पन्न भइरहेको बताए । त्यसका लागि अब संवैधानिक र कानुनी अड्चनलाई सुल्झाउन ध्यान दिनुपर्ने उनको भनाइ थियो । पूर्वउपसभापति विमलेन्द्र निधिले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सोहीअनुसार  प्रभावकारी संरचना र सञ्चालन आवश्यक रहेको बताए ।

उनले केन्द्रीकृत मानसिकताले संघीयता कार्यान्वयन हुन नसक्ने भन्दै कानुनमा संशोधन गरेर संविधानको मर्मअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताए । पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, पार्टी प्रवक्ता प्रकाशशरण महत, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, प्रा डा बुद्धबहादुर थापा, संघीय मामिला विभागका प्रमुख चन्द्र केसी, विज्ञ सदस्य डा. रुद्र शर्मालगायतले विविध विषयमा सम्बोधन गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७