राजा पुनर्स्थापना गर्ने ‘जनआन्दोलन’ सुरु नहुँदै ‘लफडा’

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्न भन्दै सोमबार पञ्चायतका पुराना नेता नवराज सुवेदीको नेतृत्वमा घोषणा गरिएको जनआन्दोलन समिति पहिलो दिनमै विवादित बनेको छ । सबै राजावादीलाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने उद्देश्यले सुवेदीको नेतृत्वमा समिति गठन गरिएको हो ।
राजसंस्था पुनःस्थापनाको पक्षमा आन्दोलनको नेतृत्व गर्ने अभिभारा लिएका पञ्चायतकालीन नेता नवराज सुवेदीले आज एउटा वृहत भेला आयोजना गरे । भेलाबाट उनले आफ्नो राजनीतिक प्रतिबद्धतापत्र सार्वजनिक गर्नुका साथै आन्दोलन सञ्चालनका लागि निर्देशक समितिको पनि प्रस्ताव गरेका छन् । सुवेदीको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गर्न हामी सबै सहमत छौं । सो समितिअन्तर्गत एउटा निर्देशक समिति र अर्को आन्दोलन परिचालन समिति रहने छ ।’
जनआन्दोलन समिति अन्तर्गत रहने भनिएको निर्देशक समितिको घोषणा भने आजै गरियो । यसमा सुवेदीले आफूलाई संयोजक तोकेका छन् भने रवीन्द्र मिश्रलाई सदस्य सचिव बनाएका छन् । समितिमा ११ जना राखिएको छ । जस अनुसार समिति सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङदेन र हरिबहादुर बस्नेत छन् ।
सुवेदीले यो समितिको प्रस्ताव गरेपश्चात हलमा उपस्थितहरुलाई समर्थनका लागि ताली बजाउन लगाएका थिए । सबैले ताली बजाएपश्चात प्रस्ताव पारित भएको घोषणा गरियो । तर, यो समिति गठन लगत्तै विवाद उब्जिएको छ । समितिभित्र राखिएका एक सदस्य केशरबहादुर बिष्टले भेलालगतै आफू समितिमा नबस्ने बताए । यति मात्र होइन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाको सहभागिता समेत निश्चित छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले त्यसप्रति असहमति प्रकट गरेका छन् ।
‘संयुक्त जनआन्दोलन समिति घोषणा भएको मैले पनि समाचारबाट थाहा पाएको छु, म त्यहाँ उपस्थित छैन । हामीसँग त्यसबारे सरसल्लाह पनि गरिएको छैन,’ लिङदेनले भने, ‘राजसंस्था मान्नेहरूको बैठक गरौं भन्ने खबर आएपछि प्रतिनिधि पठाएका थियौं । तर, हाम्रा प्रतिनिधिसँग पनि सरसल्लाह नगरी समिति घोषणा गरिएछ । सोधिएन, एकैचोटि घोषणा भयो।’ आफूलाई थाह नभएको समितिमा बस्ने कुरा नहुने उनले बताए । पूर्वपञ्च सुवेदी नेतृत्वको समितिमा लिङदेनलाई पनि सदस्य राखिएको छ ।