राजनीतिमा आउने सम्भावनाबारे कुलमान : कुनै पनि जिम्मेवारी लिन तयार छु

‘मलाई हटाउँदा कतिपयले सफलता ठानेका होलान्, म बिदा मात्रै भएको हुँ’


१८:१२ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलो पटक शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लगाएका आरोपबारे जानकारी गराएका छन् । सँगैसँगै घिसिङले राजनीतिमा आउनसक्ने केही संकेत गरेका छन् । तर, उनले प्रष्ट खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने खुलाएनन् ।

‘जनताले अहिले धेरै रुचाएको पात्रमध्ये तपाईं पनि पर्नुहुन्छ । तपाईंलाई जनताले कहिले राजनीतिमा देख्न पाउँछन् ?,’ घिसिलाई एक सञ्चारकर्मीको प्रश्न थियो । जवाफमा उनले भनेका छन्, ‘एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार छु ।’ उनलाई राजनीतिमा आउँदा कस्ता मोडालिटी प्रयोग गर्नु हुन्छ ? भनेर पनि प्रश्न सोधिएको थियो । तर, उनले धेरै केही खुलाएनन् ।

सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए । उनले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन् ‘मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’ आगामी दिनमा उनले यस्ता प्रहार आफूमाथि भइरहनसक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि बताएका छन् ।

‘विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउन खोज्दा पदबाट हट्नु पर्‍यो’
कुलमान घिसिङले आफूले राम्रो काम गर्दा बर्खास्त हुनुपरेको गुनासो गरेका छन् । उनले  प्राधिकरणको बक्यौता रकम उठाउन खोज्दा आफूलाई सरकारले हटाएको घिसिङले गुनासो गरे । चार पटकसम्म लाइन विच्छेद तथा अन्य विकल्प समेत अवलम्बन गरी बक्यौता असुलीको प्रयास गर्दा माथिल्लो निकायबाट नै अवरोध सिर्जना भएको उनको आरोप छ । 

लाइन विच्छेद गरी बक्यौता असुली गर्ने सहमतिको लागि विद्युत् नियमन आयोगलाई पत्राचार गर्ने बित्तिकै आफूलाई पदबाट हटाउने निर्णय भएको घिसिङले बताए । ‘लाइन विच्छेद गरी बक्यौता असुली गर्ने सहमतिको लागि मैँले विद्युत् नियमन आयोगलाई २०८१ चैत्र ११ गते पत्राचार गरेको थिएँ, त्यस लगत्तै मलाई बर्खास्त गर्ने निर्णय भयो, बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, उनले भने ।  

आफूलाई हटाएर नेपाली जनतालाई भरपर्दो गुणस्तरीय पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित एवं अपमानित बनाउने दुराशय सफल भएको उनले बताए । यसमा कतिपय व्यक्ति समूह र शक्तिले आफूलाई सफल ठानेका उनको आरोप छ ।  घिसिङले आफूलाई हटाउँदा केही व्यक्तिले सफलता भएको ठानेको टिप्पणी गरे । घिसिङले आफू बिदा मात्रै भएको बताएका हुन् । 

‘सरकारको निर्णयले २०७८ साउन २५ गते नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा दोस्रोपटक नेविप्रामा सेवा गर्ने अवसर पाएँ,’ उनले भने, ‘कानुनअनुसार सेवा गर्न पाएकोमा गौरव भएको छ । ०८१ चैत १४ गते हटाइँदै गर्दा मकवानपुरको चेपाङ वस्तीमा काममै थिएँ। कतिपय व्यक्ति, समूह वा शक्तिले मलाई हटाउनुलाई सफल ठानेका होलान्। कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, जिम्मेवार नागरिकको अभिभारा मबाट कहिल्यै कम हुने छैन ।’

घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको बताउँदै एक जिम्मेवार नागरिकको रूपमा काम, कर्तव्य र अभिभारा कहिल्यै कम नहुने प्रतिबद्धता जनाए । ‘नेपाली जनताले दिएको स्नेह र आर्सीवादले मलाई हार्न दिएको छैन’, उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७