खासमा योगेश भट्टराईमाथि ताप्लेजुङमा के भएको हो ?
किन भइरहेको छ, योगेशको बिरोध ?

ताप्लेजुङ : शुक्रबार कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन कार्यक्रम थियो । कञ्चनजंघा हिरक महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेकपा (एमाले)का सचिव तथा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराई पुगेका थिए ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा भएको कञ्चनजंघा हिरक महोत्सव आयोजक समितिका संयोजक खगेन्द्र फेम्बो लिम्बू हुन् । फेम्बो लिम्बू केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक पनि हुन् । शुक्रबारको कार्यक्रम फेम्बुकै अध्यक्षतामा भएको थियो।
कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजित हिरक महोत्सवमा मन्त्री पाण्डे सहित पूर्वमन्त्री समेत रहेका भट्टराईको भव्य स्वागत गरिएको थियो । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा भएको कञ्चनजंघा हिरक महोत्सव आयोजक समितिका संयोजक खगेन्द्र फेम्बो लिम्बू हुन् । फेम्बो लिम्बू केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक पनि हुन् । शुक्रबारको कार्यक्रम फेम्बुकै अध्यक्षतामा भएको थियो ।
संयोजक लिम्बु सहितले मन्त्री पाण्डे र नेता भट्टराईको स्वागत र बिदाई गरेका थिए । प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघ ताप्लेजुङको पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार उद्घाटन कार्यक्रम शान्त र भव्य भएको थियो । कार्यक्रम सम्पन्न भएपछि सानो समूहले सामान्य नाराजुलुस गरेका थिए ।
कार्यक्रम सम्पन्न भएपछि भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर गए । उनी शौचालय गएको बेला एउटा सानो समूहले नारा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं डीएसपी रवि रावलका अनुसार कार्यक्रममा कुनै त्यस्तो अबरोध अथवा नाराबाजी भएको थिएन ।
सामाजिक सञ्जालमा आए जस्तो कुनै ठुलो नाराबाजी अथवा बिरोध नभएको उनको भनाई छ । उनले भने, ‘उहाँहरू फर्कने बेला हेलिकोप्टरमा जाने क्रममा आठ/दशजनाले नाराबाजी गरेका हुन् । अरू केही होइन ।’ सामाजिक सञ्जालमा नेता भट्टराईलाई ‘नो केबलकार’ समूहले शौचालयमा थुनेको भनेर फिँजाएको हल्ला गलत भएको उनको भनाई छ ।
सांसद भट्टराईले पनि ‘उद्घाटन कार्यक्रम भव्य रूपले सम्पन्न’ भएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कञ्चनजङ्घा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङ जिल्लाको लेलेपमा हिजोदेखी शुरु भएको कञ्चनजङ्घा महोत्सव बैशाख ७ गते समापन हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यमा बिशेष गरी लिम्बु, राई, शेर्पा जातिको सांस्कृतिक झाँकी तथा आकर्षक नाच÷गान सहित हिजो उद्घाटन कार्यक्रम भव्य रूपले सम्पन्न भयो ।’
भट्टराईले सामाजिक एकता र सद्भाव कायम राख्न पनि अनुरोध गरेका छन् । प्रायोजकहरुको हतियार नबन्न र विवेक प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा २/४ जनाले मेरा बिरुद्ध नारा लगाएछन । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतांत्रिक अधिकारको प्रयोग गरेछन । मलाई कुनै दुःख छैन । सवाल बिरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाईएको छ त्यति नै गर्ने हो । मेरो आग्रह बिबेकले काम गरौं । प्रायोजकहरूको हतियार नबनौ । सामाजिक एकता र सदभाव नबिगारौं ।’
किन भइरहेको छ, योगेशको बिरोध ?
१३ वैशाख २०८ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, तात्कालिन उपाध्यक्ष सुवास नेम्वाङलाई पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका थिए । अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङलाई प्रदेशको नामकरणका सम्बन्धमा असन्तुष्ट रहेका पहिचानवादीहरूले ढुङ्गामुडा समेत गरेका थिए । सांसद भट्टराईले २६ जेठ २०८१ प्रतिनिधिसभामा बोल्दै क्रममा सांसद भट्टराईले अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङमाथिको आक्रमणको बिरोध गरेका थिए ।
सांसद भट्टराईले संसदबाट पहिचानको बिरोध गरेको भन्दै पहिचानवादीहरुको नाममा बिरोध र आक्रमण सुरु भएको थियो । तर भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीका अध्यक्ष सहितका नेताहरु माथिको भौतिक आक्रमण रोक्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गर्न खोजेको र पहिचान पक्षधरहरुलाई आघात पुग्ने कुनैपनि मनशाय नरहेको प्रष्ट पारेका थिए । त्यही घटना यता पहिचानवादीहरुको नाममा सांसद भट्टराईमाथि जिल्लामा छिटफुट बिरोध हुदै आएको छ ।