जिसस अछामकी उपप्रमुख शाहीसहित तीन जना पक्राउ


०३:०० बजे

अछाम । जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाहीसहित तीन जना पक्राउ परेका छन्। उनीहरुविरुद्ध अपमानजनक व्यवहार गरेको भन्दै मुद्दा दायर भएको छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपले उग्ररुप लिएको थियो ।

सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरे । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि झडप भएको थियो । सोही क्रममा पञ्चदेवल विनायक —४ का १३ वर्षीय विनोद शाही बेपत्ता भएका थिए । ०७९ जेठ २१ मा घर नजिकैको जंगलमा शाही मृत भेटिएका थिए । कांग्रेस कार्यकर्ताले शाहीको हत्या गरेको एमाले कार्यकर्ताको आरोप छ । विनोद शाही मृत्यु प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा भए पनि घटनाले राजनीतिक रुप लिएपछि पटक–पटक विवाद हुँदै आएको छ ।

सोही क्रममा पञ्चदेवल विनायक-४ बाट निर्वाचित जिल्ला समन्वय समिति उपप्रमुख शाही पनि मुछिएकी थिइन् । उनी पुर्पक्षका लागि थुनामा बसेर धरौटीमा रिहा भएकी थिइन् । सोही मुद्दाको बयान दिन शाहीसहित द्रोपति शाही र शान्ति शाही पनि अदालतमा उपस्थित थिइन् । दुवै पक्ष फागुन १८ मा मुद्दाको विषयलाई लिएर अदालत गएका थिए । दुवै पक्षले एकअर्कालाई देखेपछि अदालत परिसरमा हानाहान गरे ।

जसमा उपप्रमुख शाही पक्षकी द्रोपति शाहीको अर्को पक्षको कुटपिटबाट ४ वटा टाँका लागेका थिए । अर्का साक्षी दिनेश नेपालीमाथि गालीगलौज गरेपछि उनीहरुले अर्को पक्षका विरुद्धमा जातीय छुवाछूत गरेको मुद्दा समेत दर्ता गरेका थिए । सोही क्रममा बखत शाही, गणेश शाही, रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाहीको नाममा अमानवीय तथा अपमानजनक व्यवहारमा मुदा दायर भएको थियो । सोही मुद्दाको जाहेरी आधारमा रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाही पुर्पक्षका लागि थुनामा बसेर जनही १ लाख २५ हजार धरौटीमा छुटेका थिए ।

बखत शाही र गणेश शाहीका नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार भएका थिए । अन्तिममा अदालतमा हाजिर भएका बखत शाही २ लाख २५ हजार र गणेश शाही १ लाख २५ हजार धरौटीमा छुटेका थिए । धरौटीबाट छुटेका उनीहरुले नै उपप्रमुख शाहीविरुद्धमा सोही दिनको घटनालाई लिएर अमानवीय तथा अपमानजनक व्यवहारमा मुद्दा सरकारी वकिल कार्यालयमार्फत दर्ता गरेका थिए । एकै दिनको एकै प्रकृतिको मुद्दा प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरुले सरकारी वकिल कार्यालयबाट मुद्दा प्रक्रिया अगाडि बढाएका थिए । अदालतबाट पक्राउ पुर्जी लिएर वैशाख १७ गते उपप्रमुख शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार स्थानीय तहको चुनावको विषयलाई लिएर भएको विवादपछि पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका ९७ जनालाई फरक–फरक प्रकृतिका लगभग ८ मुद्दा प्रहरी कार्यालयमा आएका छन् । ‘दुवै पक्षकाले एकअर्कालाई आरोप लगाउने, मुद्दा हाल्ने काम निरन्तर चलिरहेको छ । एकै गाउँका ९७ जनाका विरुद्धमा मुद्दा आएको छ,’ उनले भने, ‘१० वर्ष मुनिका बालबालिकाबाहेक सबैको नाममा मुद्दा छ । मेलमिलापका माध्यमबाट मुद्दा नटुंगिएपछि प्रहरीले दर्ता भएका मुद्दामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७