शिक्षक र सरकारबीच आजै राति वार्ता, महासंघका नेता आकस्मिक छलफलमा
सरकारका प्रवक्ता भन्छन्–शिक्षकहरुसँगको छलफल निष्कर्ष नजिक छ

काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै (सोमबार) राति वार्ता हुने भएको छ । अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषदबाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ । सरकारसँग आजै राति वार्ता हुने सम्भावना भएपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । मन्त्रिपरिषदबाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ ।
त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका हुन् । यसघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन् ।
‘मन्त्रिपरिषद् र मन्त्रालयबाट हुने निर्णय निशर्त होस् । ऐन जारी गर्ने डेट लाइन तोकियोस् । हामी आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं भनेकै छौं,’ आन्दोलन परिचालन कमिटिको संयोजक समेत रहेकी सहअध्यक्ष पराजुली भनिन्। शिक्षकहरु २७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
सरकारका प्रवक्ता भन्छन्–शिक्षकहरुसँगको छलफल निष्कर्ष नजिक छ
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक रहेको जानकारी दिएका छन् । मन्त्रिपरिषद् बैठकपछि उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेपाल शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताएका हुन् ।
बैठकमा विभागीय मन्त्री रघुजी पन्तले आजको वार्ताको बारेमा जानकारी गराएको तर बैठकको एजेण्डा भने आन्दोरत शिक्षकको विषयमा नरहेको उनले बताए । ‘मन्त्रीज् यूले वार्ता गर्नु भएको छ । केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई । भोलि वा पर्सीसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ । विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ । मन्त्रालय र शिक्षक प्रतिनिधिबीचको संवाद जानकारी गराउनु भयो । भोलिसम्ममा सम्भवतः समाधान हुने अपेक्षा गरिएको छ ।’