निजामती कर्मचारीको बढ्यो अनिवार्य अवकाशको उमेर हद

काठमाडौं । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद बढाउने विषयमा सहमति जुटेको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजत्वमा बनाएको उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको प्रतिवेदनमा कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढ्ने व्यवस्थामा सहमति जुटेको उल्लेख छ ।
अहिले निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्ष छ । संघीय निजामती सेवा ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेहर हद हुनेछ । उक्त अवधि समाप्त भएपछिको एक वर्षसम्म ५९ वर्ष छ महिना र उक्त अवधि समाप्त भएपछिको छ महिनासम्म ६० वर्ष भन्ने उल्लेख छ । सरकारले विधेयकमा ५८ वर्षबाट सिधै ६० वर्षे उमेर हद प्रस्ताव गरे पनि उपसमितिले छलफल गरी चरणबद्ध रूपमा उमेर हद बढ्दै जाने विषयमा सहमति जुटाएको थियो । समितिबाट निजामती सेवा ऐन पास गर्ने तयारी छ । निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ ।
बुधबार (आज) बाट यो विधेयकमाथिको छलफल सकिएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको थियो । सोही तयारीस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि समितिमा बोलाइएको थियो । प्रचण्ड समितिका सदस्य पनि हुन् । तर, उनीहरू दुवै बैठकमा उपस्थित भएनन् । समितिका सभापति रामहरि खतिवडाका अनुसार, अब विधेयकमाथि शीर्ष तहमा छलफल गर्ने तयारी छ । प्रचण्डले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विधेयकका केही जटिल विषयमाा कुरा गर्ने बताएका छन् ।