पूर्वराजा शाह नागरिक स्वतन्त्रताको शत्रु : कृष्ण पहाडी

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक स्वतन्त्रताको शत्रु भएको गम्भीर आरोप लगाएका छन् । पहाडीले पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु भएको इतिहासबाट प्रमाणित भइसकेको दाबी गरेका हुन् ।
१९औँ लोकतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुधबार काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले केही दर्जन भ्रष्ट नेताका कारण लोकतन्त्र नै धरापमा परेको बताएका छन् । दागी नेताहरूलाई कारबाही गरेर सुशासन प्रत्याभूतिको सन्देश दिन उनले आग्रह समेत गरे । पहाडीले शिक्षकहरूसँग विगतमा भएका सहमति शीघ्र कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा नागरिक अगुवाहरू कृष्ण खनाल, नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, नेपाल मेडिकल एसोसिएसनका पूर्वसभापति डा. केदारनरसिंह केसी, कवि अर्जुन पराजुली, नन्दकृष्ण जोशीलगायतले खराबलाई दण्डित र असललाई पुरस्कृत गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताएका थिए । कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र, शान्ति समाजका निवर्तमान सभापति रामकृष्ण बराल, पूर्वसभापतिहरू होमकान्त चौलागाईं, डा. गंगाधर अधिकारी, सल्लाहकार रामप्रसाद जोशीलगायतले मन्तव्य राखेका थिए ।