एक साताअघि विदेशबाट फर्केकी महिला परपुरुषको घरमा मृत फेला


२३:२२ बजे

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक महिला विदेशबाट फर्किएको एक सातामै परपुरूषको घरमा मृत फेला परेकी छन्। भर्खरै कुवेतबाट फर्केकी कञ्चन गाउँपालिका–४ थकालीचोककी ४५ वर्षकी धनमाया विक स्थानीय वरपिपलचोक बस्ने ४७ वर्षीय विनोद विकको घरमा हिजो झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

धनमाया घरपछाडि रहेको फलामे भर्‍याङको चौथो खुड्किलोमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एक खुट्टाले भुईमा टेकेको र अर्को खुट्टा भुईमा लत्रेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । विनोद र धनमायाको केही दिन अगाडि लेनदेनसम्बन्धी विवाद भएको पाइएको जनाइएको छ । 
धनमायाले आत्महत्या गरेको नभई हत्या गरी झुण्ड्याइएको आशंका स्थानीय र आफन्तले गरेका छन् ।

मृतकका भिनाजु झविलाल विकले धनमाया र विनोदबीच निकटता रहेकाले घटना शंकास्पद भएको बताएका छन् । विनोद र धनमाया दुवै डिभोर्सी हुन् । पूर्व प्रहरी हवल्दार विनोद हाल एनआइसी बैंक रुद्रपुर शाखामा सुरक्षा गार्डको काम गर्छन् । ‘उनीहरुबीच आउने जाने थियो, विदेश बस्दा नै नानीले बाइक किन्न पैसा पठाएकी रहिछन्,’ विकले भने, ‘विनोदलाई श्रीमतीसँग सम्बन्धविच्छेद गर्न पनि ५ लाख पठाएको रेकर्ड हामीसँग छ, फर्केपछि त्यो रकम फिर्ता मागे पनि नदिएको र पैसा नदिए जे पनि हुनसक्छ भनेर नानीले पटक–पटक भनेको बुझिएको छ,’ उनले भने ।

विनोदले नै आफ्नो घरमा एक महिलाले आत्महत्या गरेको भनी इलाका प्रहरी कार्यालय रुद्रपुरमा बिहान ६ बजे जानकारी दिएका थिए । सोही सूचनाअनुसार घटनास्थलमा पुग्दा झुण्डिएको अवस्थामा शव फेला परेको हो । मंगलबार राति घरका आफन्त तथा परिवारसँग राति ९ बजेसम्म खानपिन गरी फर्किएको भिनाजु छविलाल बताउँछन् । धनमायाको यसअघि पाल्पाका राजन सुनारसँग बिहे भएको थियो । श्रीमानसँग सम्बन्ध विच्छेद भई कञ्चनमा बस्दै आएकी उनी केही समयअघि बिदेशिएकी हुन् ।

अहिले उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। इप्रकाले घटनाको अनुसन्धान गरिरहेको छ।मृतक पहिलाको वैवाहिक सम्बन्ध टुटेपछि माइतमै बस्थिन् र राम्रै आर्थिक जोहो गरेकी थिइन्। बच्चाबच्ची थिएनन् । विनोदको भने दुईटा बिहे भएका थिए । पहिलो श्रीमतीबाट एक छोरी र दोस्रो श्रीमतीतर्फ पनि दुई छोरी छन् । दोस्रो श्रीमतीसँग पनि सम्बन्धविच्छेदको प्रक्रिया अन्तिम चरणमा पुगेकाले एकल जस्तै थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७