सव–इन्जिनियरको साढे तीन करोड अवैध सम्पत्ति, पत्नीसहितलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका सब– इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्राधिकरणको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो । उनीविरुद्ध तीन करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
पौड्यालले मिति २०५१-०१-०९ गतेदेखि मिति २०८०-०३-३१ गतेसम्मको अवधिमा कमाएको र खर्च हिसाब गर्दा ३ करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँको हिसाब नखुलेको पनि आयोगले जनाएको छ ।
उनीविरुद्ध अख्तियारले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र जरिवाना माग गरेको छ । उनले पदमा रहँदा अवैधरूपमा कमाएको सम्पत्ति पत्नी विष्णुमैया पौड्यालका नाममा राखेको देखिएकोले बिगोबराबरको जफतका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।