प्रदीप नेपालको इच्छापत्र : मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू

काठमाडौं । वामपन्थी नेता एवं पूर्व सचार तथा सूचना प्रविधिमन्त्री स्व. प्रदीप नेपालको पार्थिक शरीरलाई आज (मंगलबार) नै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो । स्व. नेपालका भाइ समिरका अनुसार उनको पार्थिक शरीरलाई केहीबेरमा पशुपतिस्थित विद्युतीय शवदाहनमा अन्त्येष्टि गरिनेछ ।
‘केहीबेरपछि पशुपतिमै अन्तिम श्रद्धाञ्जलीसहित उहाँको पार्थिक शरिरको अन्त्येष्टि गरिनेछ,’ समिरले भने । भाइ समिर नेपालका अनुसार स्व. दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै राख्न भनिएको छ । एमालेका संस्थापक नेता रहेका र पटक–पटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।
आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदीप नेपालको हकमा तोडिने भएको छ । परिवारका सदस्य पनि यसको विपक्षमा रहेको बुझिएको छ। नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो । प्रगतिशील लेखक समेत रहेका नेता नेपालको थुप्रै पुस्तकहरु समेत प्रकाशित छन् ।
कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटक–पटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए । पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सक्रिय उनी पछिल्लो पटक एमालेमा विभाजन आएपछि अस्वस्थताका कारण निस्क्रिय थिए । नेकपा एसले पार्टी विभाजन गर्दा उनको समेत नाम राखेको थियो । विभाजनका कारण असन्तुष्ट उनी स्वास्थ्य अबस्थाका कारण एमाले र नेकपा एस कतै पनि सक्रिय थिएनन् । दुवै पार्टीका नेताहरुले बेलाबेला उनको निवास पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएर स्वास्थ्य लाभको कामना गर्ने गरेका थिए ।